काठमाडौं । विशेषगरी पछिल्लो स्थायी समिति बैठकपछि नेकपा (माओवादी केन्द्र)भित्र नेतृत्व पुस्तान्तरणको एजेन्डाले निकै प्राथमिकता पाएको छ । उपमहासचिव जनार्दन शर्माले १२ पृष्ठको प्रतिवेदन तयार गर्दै नीति र नेतृत्व परिवर्तनको एजेन्डालाई घनिभूतरुपमा उठाएका थिए । स्थायी समिति बैठकबाट पारित हुन नसके पनि पार्टीभित्र उनको एजेन्डा नै छलफलको मुख्य विषय बनिरहेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकबाट उनको एजेन्डालाई पारित हुन दिएनन् । उनले केन्द्रीय समितिमा छलफल गर्ने भन्दै टारिदिएका थिए ।
अहिले केन्द्रीय समिति बैठकको लागि भन्दै प्रदेश समन्वय समितिको बैठक चलिरहेको छ । शीर्ष नेताहरू प्रदेश स्तरका बैठकमा केन्द्रित छन् । स्थायी समिति बैठकबाट पन्छाइए पनि प्रदेश समन्वय समितिको बैठकमा जनार्दनको एजेन्डाले प्राथमिकता पाइरहेको छ ।
केन्द्रीय समिति र प्रदेश तहका नेताहरूले उक्त एजेन्डामै केन्द्रित रहेर छलफल गरिरहेका छन् । यद्यपि, पार्टी अध्यक्ष प्रचण्ड भने त्यसलाई जबरजस्ती शैलीमै पन्छाउन उद्धत देखिएका छन् । उनले विकल्प तयार नभएको भन्दै उक्त विषयलाई पन्छाइरहेका छन् ।
“म झण्डै ७० वर्ष कट्दै छु, सधैँ नेतृत्व गरिरहने रुचि छैन”, शुक्रवार सुर्खेत पुगेका प्रचण्डले जनार्दनकै अगाडि भनेका थिए, “अब त मलाई अध्यक्ष भन्ने पद त्यति ठुलो लाग्दैन, देश दुनियाँमा अध्यक्षभन्दा प्रचण्ड माथि भइसक्यो, एउटा राम्रो टिम बनेपछि म अर्का भूमिकामा जाने सोचिरहेको छु ।”
नीति र नेतृत्व परिवर्तनको विषयबाट भाग्न नसकिरहेका प्रचण्डले राम्रो उत्तराधिकारी बनाउन लागिरहेको पनि बताउने गरेका छन् । जसको लागि व्यवस्थित विधि तयार गर्दै गरेको बताएका छन् ।
“म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन”, आइतबार नेपालगन्ज पुगेका प्रचण्डले भने, “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।”
सँगै उनले घुमाउरो शैलीमा आफू नै नेतृत्वमा रहनुपर्ने दबाब आइरहेको पनि बताएका छन् । “अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठुलो छ”, उनले भनेका छन्, “तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठुलो प्रेसर छ ।”
वामपन्थी एकता र समाजवादी मोर्चाको एजेन्डा
अहिले प्रचण्ड मूलतः जसरी पनि नीति र नेतृत्व परिवर्तनको एजेन्डालाई पन्छाउन उद्धत देखिन्छन् । जसको लागि उनले पार्टीभित्र पार्टी निर्माणसँगै वामपन्थी एकता र समाजवादी मोर्चाको एजेन्डालाई पनि अघि सारिरहेका छन् ।
स्थायी समिति बैठकमा नीति र नेतृत्व परिवर्तनको विषयमा घनिभूत छलफल चल्दै गर्दा नै प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पार्टी एकताको प्रस्ताव लिएर गएका थिए ।
सत्ताबाट पाखा पन्छिएसँगै प्रचण्डले वामपन्थी एकता र समाजवादी मोर्चाको एजेन्डालाई अगाडि सारिरहेका छन् । जसलाई पार्टीभित्रको विवादबाट जोगिने उपायको रूपमा पनि हेर्न सकिन्छ ।
माओवादी केन्द्रका एक पदाधिकारी पार्टीभित्रको अन्तरसंघर्ष सामान्य तहमा नभएको बताउँछन् । पछिल्लो अन्तरसंघर्ष हल नगरी अगाडि जाने अवस्थामा प्रचण्ड पनि नरहेको उनले बताए ।
“वामपन्थी एकता वा समाजवादी मोर्चा एजेन्डा हुन् तर, प्राथमिकता पार्टीभित्रका एजेन्डा हुन्”, उनी भन्छन्, “अन्तर्द्वन्द्व सिर्जना गर्ने र अन्तर्द्वन्द्वमा खेलेर नेतृत्वमा रहिरहने अवस्था अब छैन, यसरी अगाडि बढ्न पनि सकिन्न, अब निष्कर्षमा पुग्ने अवस्था बनेको छ, पार्टीभित्रको विषय व्यवस्थापन नगरी कोही अगाडि बढ्न सक्दैन, अध्यक्षले त्यो सोच्नुभएको भए, सम्भव छैन ।”
जनार्दनको एजेन्डाले माओवादीभित्र कित्ताकाट
माओवादीभित्रको धुव्रिकरण सामान्य तहको छैन । स्थायी समितिमा जसरी नेताहरू कित्ताकाट भएर देखिए, यसले प्रचण्डलाई सजिलै अगाडि बढ्ने अवस्था बनाएको छैन ।
स्थायी समितिमा जनार्दन शर्माले प्रचण्डलाई चुनौती दिँदै प्रस्ताव पेस गरिरहँदा उपाध्यक्ष पम्फा भुसालदेखि उपमहासचिव हरिबोल गजुरेल, वर्षमान पुन, सचिवहरू देवेन्द्र पौडेल, दिनानाथ शर्मालगायत नीति र नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । स्थायी समितिमै करिब बहुमत बढी सदस्य जनार्दनको एजेन्डामा धुव्रिकृत भएका थिए ।
जुन तल्लो तहसम्मै पुगेको छ । प्रदेश समन्वय समितिका बैठकहरूमा जसरी स्थायी समितिमा प्रवेश पाएको एजेन्डाले प्राथमिकता पाएको छ, त्यसलाई हेर्दा प्रचण्ड भाग्ने अवस्थामा छैनन् । बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरू प्रचण्ड विरुद्ध नै खनिएका थिए ।