२६ सयको बिन्दुमा फर्कियो नेप्से-Sutra News

२६ सयको बिन्दुमा फर्कियो नेप्से

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१

काठमाडौं । लगातार गिरावटका बिच साताको पहिलो कारोबार दिन (आइतबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आइतबार ५३.६३ अंकले घट्दै नेप्से २६९५.९३ को बिन्दुमा ओर्लिएको छ । आइतबार समग्रकमा नेप्से १.९५ प्रतिशतले घट्यो ।



उच्च अंकले घटेको नेप्सेमा कारोबार रकम पनि उच्च अंकले नै घटेको छ । अघिल्लो कारोबार दिनभन्दा झण्डै २ अर्ब कम अर्थात् १० अर्ब ५१ करोडमा कारोबार सीमित भयो । आइतबार २ करोड ६२ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ५१ करोड रुपैयाँ मात्रै भयो । जुन झण्डै डेढ महिना यताकै कम हो ।

राताम्मे बनेको नेप्सेमा सामूहिक लगानीबाहेकका सबै समूहका परिसूचक घटे । बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटे ।

आज कारोबारमा आएका कम्पनीमध्ये ३१ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ४ को स्थिर रह्यो ।

सुपर माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्दा पिपुल्स हाइड्रोपावर, माइखोला हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । यस्तै आज, उपकार लघुवित्तको ९.९, नेपाल फाइनान्सको ९.५ र मिडसोलु हाइड्रोपावरको ९.२ प्रतिशतले घट्यो ।

आज कारोबार रकमका आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रहे । गुडविल फाइनान्सको मात्रै ४ लाख १९ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ करोड २३ लाख रुपैयाँको भयो ।

लगातार गिरावटका बिच थुप्रै लगानीकर्ता निराश छन् । जसको प्रतिफल नेप्सेमा लगातार गिरावट भइरहेको छ । यद्यपि, लगानीकर्ताहरु यसलाई ‘करेक्सन’ भएको मान्दछन् । नेप्सले अबका दिनमा उत्साहपूर्णरुपमा गति लिने लगानीकर्ताहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट