किन घटिरहेको छ सेयर बजार ?-Sutra News

किन घटिरहेको छ सेयर बजार ?

लगानीकर्ता तथा विश्लेषक जगतजङ्ग जिसी भन्छन् – बजारले सरकारबाट उत्साह जाग्ने प्रतिबद्धता पाएन

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन नै सेयर बजारमा मनोवैज्ञानिक प्रभाव पार्नलाई काफी भएको पाइन्छ । उनको आगमन नै महत्वपूर्ण मानिएको बजारमा पछिल्लो समय केही नीतिगत परिवर्तनसँगै थप अनुकलित हुने अवस्था बन्यो । विशेषगरी मौद्रिक नीतिमा संस्थागत लगानीकर्ताका लागि सेयर धितोमा लगाइएको सीमा हटेसँगै बजारमा उत्साह जाग्यो ।



मौद्रिक नीति जारीपछि सेयर बजार यति धेरै उत्साहित बन्यो कि बजारमा एकपछि अर्को रेकर्ड ब्रेकका घटनाहरु भए । इन्डेक्स ३ हजारभन्दा माथि उक्लिन नसकेपनि कारोबार रकम हालसम्मकै सर्वाधिक बिन्दुमा पुग्यो ।

गत साउन ३१ मा एकै दिन कारोबार रकम २९ अर्ब ३० करोड ५२ लाखसम्मको भएको थियो । जुन ऐतिहासिक कारोबार रकम हो । जुन दिन नेप्से इन्डेक्स पनि ३०००.८१ को बिन्दुमा उक्लिएको थियो ।

यद्यपि, त्यसयता नेप्सेमा उत्साह देखिन्न । नेप्से निरन्तर ओरालोमा छ । पछिल्लो नौ कारोबार दिनमै नेप्सेमा ३ सय अंक बढीले गिरावट आएको छ । सँगै कारोबार रकम पनि निराशा जगाउने गरी घटिरहेको छ । दैनिक औसतमा २० अर्बमाथि पुगेको कारोबार रकम अहिले १० अर्ब हाराहारीमा खुम्चिएको छ ।

निरन्तरको गिरावटलाई कतिपय लगानीकर्ता तथा बजार विश्लेषकहरु ‘करेक्सन’ भन्ने गरेका छन् । बजार बलियो हुन पनि करेक्सन भइरहनु पर्ने विश्लेषकहरुको धारणा सुन्न पाइन्छ ।

“बजारमा करेक्सन आउनु स्वभाविक हो, पछिल्लो पटक बजार झण्डै एक हजार अंकले बढ्यो, जसमा २०÷३० प्रतिशतसम्मको गिरावट आउनुलाई आश्चर्य मान्न मिल्दैन”, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे भन्छन्, “केहीका लागि नाफा बुक गर्ने अवसर हो भने केहीका लागि लगानी गर्ने अवसर हो ।”

यद्यपि, कारोबार रकमसँगै इन्डेक्समा लगातारको गिरावटलाई भने ‘करेक्सन’ मात्रै भन्न मिल्ने हो वा होइन प्रश्न देखिन्छ । ३० अर्ब हाराहारीबाट कारोबार रकम १० अर्बको आसपासमा आउँदै गर्दा धेरै लगानीकर्ता बाहिरिएको जस्तो पनि देखिन्छ । यदि ठूलो समूह बाहिरिएको भएमा बजारमा फेरि उत्साह जाग्छ भन्न सकिन्न ।

तर, रजौरे लगानीकर्ता बाहिरिएको नभई ‘होल्ड’मा बस्दा कारोबार रकममा गिरावट आएको दाबी गर्दछन् । यद्यपि, नेप्सले करेक्सनको तह पूरा गरेसँगै कारोबार रकम पनि उत्साहजनकरुपमा बढ्ने उनको भनाई छ ।

“केही नाफा बुक गर्न तर्फ लागे, केही होल्ड गर्न तर्फ, धेरै लगानीकर्ता थप बढ्ने आशामा होल्ड गर्न लाग्दा किनबेच कम भयो”, रजौरे थप्छन्, “यसलाई अन्यथा मान्न पर्दैन, इन्डेक्समा सुधार आउँदा कारोबार रकम पनि फेरि फर्किन्छ ।”

अर्का लगानीकर्ता जगतजङ्ग जिसी भने सरकार नेतृत्वबाट उचित सम्बोधन नहुँदा नेप्सेमा थप उत्साह जाग्न नसकेको बताउँछन् । उनका अनुसार नेप्सेलाई थप अगाडि बढाउन सरकारबाट थप प्रतिबद्धता आवश्यक देखिन्छ ।

गत भदौ ७ मा ‘नेपाल उद्योग तथा व्यवसायी महासंघ’को ब्यानरमा काठमाडौंको एक पाँच तारे होटलमा सेयर लगानीकर्ताहरुलाई डाकिएको थियो । जहाँ प्रधानमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले सम्बोधन गर्ने कार्यक्रम बनेको थियो । जहाँ ठूला मानिएका सहित सबैखाले लगानीकर्ता उपस्थित थिए ।

तर, उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भने समय दिएनन् । उनले अन्तिम समय कार्यक्रममा उपस्थित नहुने सूचना पठाएका थिए । जसको प्रभाव बजारमा देखिएको जिसीको भनाई छ । जुन घटनायता नेप्से निरन्तर ओरालोमा छ ।

“लगानीकर्ताले सरकार नेतृत्व तहबाटै थप प्रतिबद्धता खोजिरहेका छन् तर, त्यो प्रतिबद्धता आउन सकिरहेको छैन”, जिसी भन्छन्, “सरकार नेतृत्व तहबाटै लगानीकर्तालाई आश्वस्त पार्नुपर्छ, तर्किने अनि फर्किने गरेर बजार अघि बढ्दैन ।”

जिसीका अनुसार व्यक्तिगत सेयर धितोमा लगाइएको सीमा हटाउनेदेखि जोखिमभार कम गराउने गरी नीतिगत सम्बोधन पनि अहिलेको आवश्यकता हो । यदि त्यसो भएमा बजारले पुरानै लय लिन सक्छ । रफ्तार समात्न सक्छ ।

अर्थमन्त्री विष्णु पौडेलले थप अनुकुलित नीति ल्याउने आश्वासन बाँडेको भएपनि घोषणा भइसकेको छैन । यसअघि मौद्रिक नीति जारी गर्दै गर्दा गभर्नर महाप्रसाद अधिकारीले पनि थप नीति पछि आउने बताएका थिए । यदि बजारको मनोविज्ञानअनुसारका नीति आउन नसके बजारमा उत्साह छाउन गाह्रो हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट