काठमाडौँ । नेकपा माअोवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारीले आगामी महाधिवेशनका लागि ३३ पदाधिकारी र २४३ केन्द्रीय सदस्य बनाउने प्रस्ताव तयार गरेको छ ।
आगामी असोज २ देखि ५ गतेसम्म हुने संगठनको २३ औँ महाधिवेशनका लागि पदाधिकारी र केन्द्रीय सदस्य चुस्त दुरूस्त बनाउन विधान मस्यौदामार्फत प्रस्ताव गरिएको संगठनका उपाध्यक्ष केशव रावलले बताए ।
‘हामीले संगठनलाई सानो आकारमा बनाएर चुस्त बनाउने प्रयास गरेका हौँ, यसका लागि संगठनमा छलफल सुरू भएको छ,’ उनले भने, ‘यसका लागि विधान सम्मेलनमार्फत संगठनको विधान फाइनल हुने छ, यो सम्मेलनको निर्वाचनबाट कमिटी चुस्तदुरुस्त हुने अपेक्षा लिएका छौँ ।’
अहिले नयाँ विधानमा सबै समूदाय र लिंगको प्रतिनिधित्व हुने गरी प्रस्ताव तयार गरेको छ । प्रस्तावित विधान मस्यौदाअनुसार पदाधिकारीमा एक अध्यक्ष, नौ उपाध्यक्ष, एक महासचिव, नौ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्षको प्रस्ताव गरिएको छ ।