काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘वर एण्ड वधु’ले दर्शकको मन जित्दै काठमाडौंका विभिन्न हलहरूमा राम्रो उपस्थिति देखाउन सफल भएको छ। शनिबार विशेषतः हलहरूमा दर्शकको चाप उल्लेखनीय रूपमा देखियो, जसले फिल्मका कलाकार र निर्माण टोलीलाई उत्साहित बनाएको छ।
शनिबार बिहानैबाट फिल्मका मुख्य कलाकार आँचल शर्मा, विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, र कलाकार दिनेश काफ्ले लगायतको टोली विभिन्न हलहरूमा दर्शकसँग प्रत्यक्ष रूपमा भेट्न पुगेका थिए। शनिबारकै बेलुकीको शोजमा भने उनीहरू बनेपा समेत पुगेका थिए, जहाँ पनि दर्शकको माया पाए।
दर्शकको मायाले उत्साहित नायिका आँचल शर्माले भनिन्, “फिल्म हेर्न आउनुभएका दर्शकले यसको कथावस्तु, अभिनय र सबै कुरा मन पराइदिनुभएको छ। यो नै हाम्रो लागि ठूलो कुरा हो। दर्शकको यो मायाले म निकै उत्साहित छु।”
नायक विवेक कर्माचार्यले पनि दर्शकबाट पाएको साथ, हौसला र मायाले आफू निकै खुशी भएको बताए। उनले आगामी दिनमा अझै मिहिनेत गरेर उत्कृष्ट काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
फिल्मका निर्देशक मिलन चाम्सले दर्शकको सकारात्मक प्रतिक्रियाले आफूलाई फिल्मको सिरिज बनाउने प्रेरणा मिलेको बताए। यदि फिल्ममा दर्शकको उत्साह आगामी दिनहरूमा पनि यस्तै रह्यो भने फिल्मको सिरिज निर्माण हुने संकेत उनले दिए।
चलचित्र हेर्ने अधिकांश दर्शकले फिल्मको संवाद ‘पानी खानु हुन्छ’लाई कण्ठै बनाएको देखियो। हलबाट निस्किँदै गर्दा धेरै दर्शकले यो संवाद दोहोर्याएको पाइयो, जसले फिल्मको लोकप्रियता झल्काएको छ।
फिल्ममा किरण केसी, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, रविन्द्र खड्का, विजय लामा लगायतका कलाकारहरूको पनि उत्कृष्ट अभिनय रहेको छ। एलआरएक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका कार्यकारी निर्माता अमित रिजाल हुन्। फिल्मको कथावस्तु, दृश्य, कलाकारहरूको अभिनय र कमेडी पाटोलाई दर्शकले अत्यधिक रुचाएका छन्। फिल्म प्रदीप भारद्धाजले लेखेका हुन् भने सुदिप बरालले खिचेका हुन्।