ओलीले प्रचण्डसँग किन बढाउँदै छन् दुरी ?-Sutra News

ओलीले प्रचण्डसँग किन बढाउँदै छन् दुरी ?

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई महिनाअघि एउटै डुङ्गामा सवार थिए । सत्ता गठबन्धनमा प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओलीले साथ दिने बचन दिइरहेका थिए ।



संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ता सहकार्य हुने संकेत पाएका प्रचण्डले एमाले अध्यक्ष ओलीसँग संवाद बढाउँदै गए । संवादमा प्रचण्डलाई ओलीले ‘नर्क गए पनि सँगै जाने, स्वर्ग गए पनि सँगै जाने’ भन्दै आश्वासन दिए । प्रचण्ड ढुक्क भएर सत्ता गठबन्धन अर्को चुनावसम्म जाने बताइरहे ।

तर, असार १७ गते मध्यराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता गठबन्धन गरेर जाने सात बुँदे सहमति भयो । दुई नेताबीच सहमति सार्वजनिक भएपछि प्रचण्डले ओलीसँग छलफल गरे । उक्त छलफलमा समेत ओलीले कांग्रेससँग कुनै सहमति नभएको भन्दै प्रचण्डलाई झुक्याए ।

प्रचण्डमाथि छल गरिरहेका ओली असारको अन्त्यतिर आफै प्रधानमन्त्रीमा नियुक्त भए । उनी प्रधानमन्त्री भएको डेढ महिनामै प्रचण्डसँगको सम्बन्ध अपरिचित जस्तो बन्न पुगेको छ ।

संसददेखि सामान्य कार्यक्रमसम्म प्रचण्डमाथि खनिएर दुरी बढाउँदै गएका ओलीले फेरि आफ्नो पद भुलेर अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्रीको पदमा बसेर शान्ति भड्काउने अभिव्यक्ति दिएका ओलीले माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धलाई ‘हिंसा’ भनिरहेका छन् । उनले माओवादीले १७ हजारलाई मारेको समेत भन्न भ्याएका छन् ।

कांग्रेसको काँधमा बसेर प्रधानमन्त्री बनेका ओलीले बेप्रवाह बोलिरहँदा उनलाई पार्टीका नेता कार्यकर्ताले बलियो साथ दिएका छन् । तर, उनलाई सत्ता यात्रामा साथ दिएको कांग्रेस भने माओवादीसँग दुरी बढाउन चाहेको देखिन्न । उसले आगामी दिनमा हुने सत्ता सहकार्यलाई ध्यान दिएको देखिन्छ ।

शनिबार काठमाडौँमा आयोजित एक समारोहमा ओली र देउवा सँगै थिए । यस क्रममा ओली प्रचण्डमाथि खनिँदा देउवा नरम बने । उनले आफूहरूलाई सत्ता सहकार्यका लागि अरुले मिलाइदिएको समेत बताउन भ्याए ।

सम्बोधनका क्रममा ओलीले ‘आफूले १७ हजार मान्छे नमारेकाले खुट्टा नकमाउने’ बताए । “प्रचण्ड जीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनु भएछ, मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र ? मैले त डराउनु पर्नै केही छैन”, प्रचण्डविरुद्ध खनिएका ओलीले भनेका थिए ।

यसअघि एमाले सचिव योगेश भट्टराईले संसद बैठकमै सम्बोधनका क्रममा माओवादी युद्ध ‘हिंसा’ भएको बताउँदै उग्र रुप देखाएका थिए । उनले माओवादीको आन्दोलनलाई हिंसा भनिरहँदा माओवादीका सांसदहरुले तत्कालिन समय हतियार तस्करीमा संलग्न रहेको भन्दै छानबिनका लागि माग गरे ।

यसअघिका प्रधानमन्त्रीको कार्यकालमा हुँदा पनि ओलीले प्रचण्डमाथि खनिँदै जनयुद्ध नभई हिंसा भएको बताउँदै आएका थिए । तर, उनीहरु सत्ता सहकार्यदेखि पार्टी एकीकरणसम्म पुगे ।

यता सत्ताबाट पाखा पन्छाइएका प्रचण्डले ओली नेतृत्वको सरकारमाथि पनि एकपछि अर्को गरी प्रश्न तेस्र्याइरहेका छन् । प्रधानमन्त्री पदका लागि अन्तिम पटक विश्वासको मत लिन असार २८ गते बसेको संसद बैठकमा पनि प्रचण्डले ओली नेतृत्वको सरकारले काम गर्न नसक्ने दाबी गरेका थिए । तत्कालिन समय त उनले संवैधानिक हिसाबले ओली प्रधानमन्त्री बन्न मुस्किल हुने बताएका थिए ।

प्रचण्डले विचौलियाको सहारामा बनेको सरकार भन्दै जनताको हितमा काम गर्न नसक्ने दाबी गर्दै आएका थिए । यसलाई निरन्तरता दिँदै गत मंगलबार संसदमा सम्बोधन गरेका प्रचण्डले बंगलादेश र श्रीलंकाको जस्तै आन्दोलन हुने चेतावनीसम्म दिन भ्याए ।

संसदमा सम्बोधन गरेर सरकारमाथि खनिएका प्रचण्ड पनि कांग्रेसप्रति नरम देखिएका छन् । आगामी दिनमा सत्ता सहकार्यको सम्भावना देखेका प्रचण्डले आफूलाई खोज्दै सत्ता आउने अवस्था बन्ने बताइरहेका छन् । विशेषगरी परराष्ट्रमन्त्री आरजु देउवा राणाको भारत भ्रमणपछि प्रचण्ड उत्साहित देखिन्छन् । उनले पार्टी बैठकमै उक्त सम्भावनाबारे बोलेका थिए ।

अहिले जसरी कांग्रेस प्रमुख प्रतिपक्षी दल माओवादीप्रति नरम देखिएको छ र माओवादी पनि कांग्रेसप्रति नरम देखिन्छ, यसले सत्तामा केही उथलपुथलको संकेत गर्दछ । कांग्रेसभित्रबाट एमालेसँगको सहकार्य असहज भएको बताइरहँदा नयाँ सम्भावनालाई ध्यानमा राखी दलहरु यस्तो रणनीतिमा देखिएकोमा दुविधा छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट