बालबालिकालाई डिजिटल बैंकिङ्गमा जोड्न ग्लोबल आइएमईले ल्यायो ‘ग्लोबल जुनियर एप’-Sutra News

बालबालिकालाई डिजिटल बैंकिङ्गमा जोड्न ग्लोबल आइएमईले ल्यायो ‘ग्लोबल जुनियर एप’

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बालबालिकालाई केन्द्रित गरी ‘ग्लोबल जुनियर एप’ सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बैंकले एप सार्वजनिक गरेको हो ।



एप सार्वजनिक गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले डिजिटल बैंकिङ्ग कारोबारलाई बढावा दिने उद्देश्यले एप ल्याइएको बताए । उनका अनुसार परिवारमा आर्थिक व्यवस्थापन गर्न र बालबालिकालाई सहज बैंकिङ्ग गतिविधिमा जोड्न एपले मद्दत गर्नेछ ।

“अहिले एकातिर बालबालिकालाई पनि प्रविधिको बारेमा राम्रो ज्ञान दिन जरुरी छ भने अर्कोतिर बैंकिङ्ग गतिविधिमा पनि सहज जोड्न जरुरी छ”, रेग्मीले भनेका छन्, “समयको मागअनुसार बैंकले डिजिटल गतिविधिलाई टेवा पुर्‍याउने उद्देश्य ‘ग्लोबल जुनियर एप’ ल्याएको हो, आगामी दिन बैंकले यस्ता बैंकिङ्ग प्रडक्ट थप ल्याउनेछ ।”

बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेलका अनुसार ‘ग्लोबल जुनियर एप’ले अभिभावकको नियन्त्रणमा रहने गरी बालबालिकालाई बैंकिङ्ग गतिविधिमा जोड्नेछ । अभिभावक स्वयम्ले सहज रूपमा एपमा खाता खोल्नदेखि बालबालिकालाई बैंकिङ्ग गतिविधिमा जोड्न सक्नेछन् ।

१२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लक्षित गरी ल्याइएको यो एपबाट बालबालिकाले आफ्ना अभिभावकले निर्दिष्ट गरेअनुसारका बैंकिङ्ग गतिविधि गर्न सक्नेछन् । पौडेलका अनुसार एपको प्रयोग गरी बालबालिकाले आवश्यक पर्दा एपबाट भुक्तानी दिन सक्नेछन् । जसमा रकमदेखि सबै कुरा अभिभावक नियन्त्रित पनि रहने उनले जनाए ।

बैंकले ‘ग्लोबल जुनियर एप’ प्रयोग गर्दा एपमा रहने रकममा पनि ब्याज दिने जनाएको छ । साथै, १८ वर्ष पुगेसँगै उक्त एप प्रयोगकर्ता बालबालिकालाई सोही खाताकै आधारमा अर्को खाता पनि खोलिदिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट