शिल्पा मास्के भन्छिन्- ‘देवी’को व्यवसायिक दृष्टिकोणभन्दा अगाडि कन्टेन्टप्रति विश्वास छ-Sutra News

शिल्पा मास्के भन्छिन्- ‘देवी’को व्यवसायिक दृष्टिकोणभन्दा अगाडि कन्टेन्टप्रति विश्वास छ

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडौं । अभिनेत्री शिल्पा मास्केले फिल्म ‘देवी’ मा निर्माताको भूमिका निभाउँदै चुनौतीपूर्ण अनुभव गरेको बताएकी छन्।



तीजको अवसर पारेर यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रचार-प्रसारमा निकै सक्रिय देखिएकी अभिनेत्री मास्केले निर्माताको जिम्मेवारी निभाउँदा चुनौती एकदमै रहेको बताएकी हुन्।

उनी यो फिल्ममा अभिनेत्री मात्र नभई सह-निर्मात्री भएकाले अन्य फिल्मको तुलनामा दौडधुप बढी भएकाले प्रचारप्रसारमा हुँदा पनि दिमाग धेरै ठाउँमा पुग्ने गरेको र पहिलो पटक निर्माता बन्ने अवसर पाउँदा धेरै कुरा सिक्न पाएको अनुभव सुनाएकी छन्।

‘फिल्मको स्क्रिप्ट लिएर विभिन्न निर्माताहरूसँग पुगे, धेरैले यसलाई कमर्शियल फिल्म नभएको भन्दै लगानी गर्न इच्छुक देखाएनन्। पछि आफै कन्टेन्टप्रति विश्वास राखेर आफैं सह-निर्मात्री बन्ने निर्णय गरे’, शिल्पा भन्छिन्, ‘निर्माताको जिम्मेवारी निभाउँदा चुनौती एकदमै हुँदो रहेछ। प्रचारप्रसारमा हुँदा पनि दिमाग धेरै ठाउँमा पुग्ने रहेछ। निर्माता बन्नु गाह्रो काम हो, तर पहिलो अनुभव भएकाले धेरै सिक्न पाएँ।’

‘देवी’ फिल्मले बलात्कारको घटनालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ। शिल्पा स्वयंले पनि फिल्ममा बलात्कारको घटनाबारे रिपोर्टिङ गर्ने पत्रकारको भूमिका निभाएकी छन्। भूमिका निभाउनुअघि उनले एक दैनिक पत्रिकाकी महिला पत्रकारसँग भेटेर रिपोर्टिङको अनुभव लिएकी थिइन्, जसले उनको चरित्रको तयारीमा ठूलो सहयोग पुर्‍यायो।

फिल्मले उठाएको विषयवस्तुमाथि धेरै अनुसन्धान गरिएको शिल्पाले स्मरण गरिन्। ‘बलात्कारका तथ्यांकहरू, पत्रपत्रिकामा प्रकाशित लेखहरू संकलन गरेर फिल्मलाई सत्य घटनाबाट प्रभावित काल्पनिक रुपमा तयार गरिएको हो,’ उनी भन्छिन्, ‘देवी’मा व्यापारिक दृष्टिकोणले लगानी गरेको छैन। यो फिल्म सामाजिक सन्देशका लागि निर्माण गरिएको हो, र राम्रो कन्टेन्टले व्यापारिक सफलतासमेत हासिल गर्न सक्छ भन्ने सोच राखेर काम गरेका हौं।’

उठाएको विषयवस्तु दर्शकमा बहसको रुपमा उठोस् र यस्ता घटनाहरूको निर्मूल गर्ने दिशामा छलफल चलोस् भन्ने अपेक्षा राखेको पनि बताइन्। ‘देवी’ व्यापारिक दृष्टिकोणबाट लगानी गरिएको फिल्म होइन,’ उनी भन्छिन्, ‘क्राइम-थ्रिलर फिल्ममा लगानी गर्न गाह्रो छ। तर, अहिले महिला केन्द्रित र कन्टेन्टमुखी फिल्म रुचाइने हुँदा हामीले सामाजिक सन्देशका लागि फिल्म बनायौं। मिहेनत गरेर राम्रो भए ‘कमर्शियल भ्यालु’ पनि हुनेछ भनेर काम गर्‍यौं।’ यदि यो फिल्म व्यवसायिक रुपमा सफल भए, आगामी दिनमा फिल्मको निर्माणलाई निरन्तरता दिने योजना रहेको उनको भनाइ छ।

‘देवी’ले बलात्कारको घटना र कानुनी प्रक्रिया कसरी प्रभाव पार्छ भन्ने कथामा आधारित छ। मास्केले बलात्कारको घटनाबारे रिपोर्टिङ गर्ने पत्रकारको भूमिका निभाएकी छन्, जसको लागि उनले एक महिला पत्रकारसँग भेटेर रिपोर्टिङको अनुभव लिएकी थिइन्।

संजोग राईको निर्देशनमा बनेको ‘देवी’मा शिल्पासँगै गौरव पहारी, नाजिर हुसेन, टीका पहारी लगायतका कलाकारको अभिनय रहेको छ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यो फिल्मको  कथा निर्देशक राई र अजय गौतमले मिलेर लेखेका हुन्। रेमन गुरुङ र संजोग राईले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट