किन झिनो अंकको बृद्धिमै सीमित बन्यो नेप्से ?-Sutra News

किन झिनो अंकको बृद्धिमै सीमित बन्यो नेप्से ?

बजार विश्लेषक जगतजङ्ग जिसी भन्छन्– अल्पकालिन नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा बजार अपेक्षितरुपमा बढ्न सकेन

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडौं । निरन्तरको गिरावटलाई ब्रेक गर्दै सोमबार सेयर बजार परिसूचक (नेप्से)ले पुनः पुरानै लय समातेको थियो । सोमबार एकै दिन नेप्सेमा १२७ अंकको उच्च बृद्धि भएको थियो ।



जुन बृद्धिको प्रभाव मंगलबार पनि देखिने आशा लगानीकर्ताले गरेका थिए । यद्यपि, मंगलबार भने नेप्से झिनो अंकको बृद्धिमै सीमित रह्यो ।

दिनभर तिव्र उतारचढावका बिच नेप्से ६.९० अंकको बृद्धिमै रोकियो । मंगलबारको कारोबारसँगै नेप्से २८३०.२० को बिन्दुमा उक्लिएको छ ।

यद्यपि, मंगलबार अधिकांश समूहका परिसूचक घटेका छन् । तिव्र उतारचढावका बिच नेप्सेका केही समूह र केही कम्पनी भने चम्किँदा अधिकांश सुस्ताए ।

कारोबारमा आएका २४४ कम्पनीमध्ये १०६ कम्पनीको मूल्य बढ्दा मंगलबार १३३ कम्पनीको मूल्य घट्यो ।

यद्यपि, तिव्र उतारचढावको प्रभाव यस दिन एक दर्जन कम्पनीको मूल्यमा १० प्रतिशतले बृद्धि भयो ।

मंगलबार यसअघिका दिनका तुलनामा कारोबार रकम पनि बढेको छ । ३ करोड ५ लाख ९९ हजार कित्ता किनबेच हुँदा कारोबार रकम १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको भयो । जुन केही दिनयताकै उच्च हो ।

सोमबार उच्च बृद्धिसँगै अल्पकालिन नाफा बुक गर्न खोज्ने लगानीकर्ता हाबी हुँदा मंगलबार आशातितरुपमा नेप्से नबढेको बजार विश्लेषकहरु बताउँछन् । आगामी दिनमा बजार कता जाला भन्ने अन्योलता बढ्दा तिव्र उतारचढावको अवस्था देखिएको विश्लेषकको बुझाई छ ।

“ठूलो करेक्सनपछि सोमबार जसरी बढ्यो त्यसले बजारलाई थप मूभ गराउने सम्भावना बढाएको थियो तर, अल्पकालिन नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा बजार अपेक्षितरुपमा बढ्न सकेन”, बजार विश्लेषक जगतजङ्ग जिसी भन्छन्, “धेरै घटिहाल्छ कि भन्ने त्रासमा हुँदा यस्तो भयो, तर एकल अंकले बढेपनि यसले आशा जगाएको छ ।”

उनका अनुसार बजार आगामी दिनमा थप आक्रामकरुपमा जान सक्ने आधार तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट