अक्सिजन नहुँदा रौतहटमा नवजात शिशुको मृत्यु-Sutra News

अक्सिजन नहुँदा रौतहटमा नवजात शिशुको मृत्यु

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडौँ । रौतहटको दक्षिणी भेग भारतीय सीमासँग जोडिएको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजनको अभाव हुँदा नवजात शिशुको मृत्यु भएको छ ।



बौधिमाई ४ स्थित इनरवारीस्थित स्वास्थ्य चौकीमा अक्सिजन अभावमा एक जना नवजात शिशुको मंगलबार बिहान मृत्यु भएको हो । बौधीमाई नगरपालिका ४ का गौरीशंकर पटेलका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरीको जन्म भएको थियो ।

जन्मिएको केही समयपछि शिशुको मुटुको चाल मन्द हुँदा थप उपचारका लागि पालिकाकै एम्बुलेन्समा राखेर वीरगन्ज रिफर गरिएको थियो । वीरगन्ज ल्याउने क्रममा एम्बुलेन्समा अक्सिजन नहुँदा शिशुको मृत्यु भएको पीडित पटेलले बताएका छन् ।

थप उपचारको लागि बिहान ५ बजे नवजात शिशुलाई वीरगन्जस्थित तराई अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । इनरवारी स्वास्थ्य चौकीका इञ्चार्ज अकलेश ठाकुरले पनि अक्सिजन अभावमा शिशुको मृत्यु भएको स्वीकार गरेका छन् ।

नर्मल जन्मिएको बच्चा नरुँदा परिवारजन तथा अस्पतालका कर्मचारीहरू आत्तिएर शिशुलाई थप उपचारका लागि वीरगञ्ज पठाएको थियो । तर एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा अक्सिजन नहुँदा बच्चाको मृत्यु भएको थियो ।

बौधीमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले एम्बुलेन्सको अक्सिजन नहुँदा शिशुको मृत्युको दुःखद घटना भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट