सामाजिक सञ्जालमा ओली र बालेनबिच ‘छुद्र युद्ध’-Sutra News

सामाजिक सञ्जालमा ओली र बालेनबिच ‘छुद्र युद्ध’

बुधबार, १९ भाद्र २०८१

बुधबार, १९ भाद्र २०८१

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच सामाजिक सञ्जालमा निकै नमिठो लडाइँ चलिरहेको छ । एकअर्काविरुद्ध आरोप/प्रत्यारोपमा उत्रिरहेका दुईले अहिले एकले अर्कोलाई सामाजिक सञ्जालमार्फत खुइल्याउने गरी अभियान नै चलाएका छन् ।



प्रधानमन्त्री ओली समर्थकले बालेनविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो अभियान’ चलाएका छन् भने बालेन समर्थकले पनि ओलीविरुद्ध ‘अनफलो अभियान’ छेडेका छन् । जसको प्रभाव दुवैका फलोअर्स घटिरहेका छन् । यद्यपि, पछिल्लो ‘अनफलो अभियान’ले बालेनलाई भन्दा ओलीलाई धेरै घाटा भएको छ ।

एकअर्काविरुद्ध ‘अनफलो अभियान’ चल्दा ओलीले एकै दिन ७० हजार बढी फलोअर्स गुमाएका छन् भने बालेनको भने खास क्षति भएको देखिन्न । ‘अनफलो अभियान’ चलेसँगै मंगलबार दिउँसोसम्म ६ लाख ६६ हजार बढी फलोअर्स भएको ओलीको ‘केपी शर्मा ओली’ नामको फेसबुक पेज पाँच लाख ९० हजार हाराहारीमा आइपुगेको छ भने २१ लाख बढी फलोअर्स भएका बालेनको भने खास घटबढ देखिएको छैन ।

यद्यपि, सामाजिक सञ्जालमा पोखिएको तिक्तताले भने दुवैका शुभचिन्ततलाई खिन्न पारेको छ ।

मेयर बालेनले केही दिनअघि नेकपा (एमाले)की प्रदेश सांसद रेखा शर्माबारे फेसबुकमा स्टाटस लेखेका थिए। सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको आरोप लगाउँदै बालेनले ‘शर्मालाई किन पक्राउ नगरेको ?’ भन्दै ओलीमाथि प्रश्न गरेका थिए ।

फेसबुकमा गरिएको उक्त पोष्ट ओली समर्थकले रिपोर्ट गरेर हटाएपछि बालेन समर्थकहरुले ओलीविरुद्ध ‘अनफलो अभियान’ सुरु गरेका थिए । आफ्नो पोष्ट सामाजिक सञ्जालबाट हटेपछि बालेनले ‘पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो’ भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए। त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन्।

उसो त ओली र बालेनबिच यसअघिदेखि नै विभिन्न घटनालाई लिएर विवाद चलिरहेको छ । पछिल्लो पटक काठमाडौंको नदी किनारका सुकुम्बासी बस्ती हटाउनेदेखि विभिन्न घटनामा एमाले र बालेनबिच टकरावको अवस्था देखिएको थियो ।

न्यूरोडको सडक विस्तारमा पनि एमाले र बालेन आमनेसामने देखिएका थिए । एमालेले महानगरभित्र संगठितरुपमै बालेनविरुद्ध अभियान चलाइरहेको छ । जसको उदाहरणमा पछिल्लो पटक उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरुले बालेनविरुद्ध गरेको आलोचना पनि हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट