काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भइरहेको बताएका छन् । बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले परिवर्तन उल्ट्याउन खोजिए प्रतिकार गर्नुपर्ने बताएका छन् । जसको लागि पार्टीलाई एकताबद्ध गर्दै अन्य साना दलहरुलाई एकीकृत गर्न जुट्नुपर्ने धारणा प्रचण्डले राखेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
“भूराजनीतिक स्थितिले गर्दाखेरी राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको छ, राष्ट्रियता, जनजिविकाका सवालहरु दिन प्रतिदिन पेचिलो बन्दै गएका छन्”, बैठकमा प्रचण्डले राखेको भनाईलाई उद्र्धत गर्दै सापकोटाले भने, “यस्तो परिस्थितिमा हामीले नयाँ विचारको विकास गर्दै यो जटिल परिस्थितिलाई चिर्नका लागि, चुनौतीको सामना गर्नका लागि पार्टीलाई एकतावद्ध बनाउने, सुदृढ गर्ने र जनदिशा लागू गर्नेतर्फ लाग्नुपर्छ, परिवर्तन उल्ट्याउँदै दुई दलीय शासनतिर देशलाई लान खोजिएको छ, त्यसले अधिनायकवादतिर लाने संकेत देखा परेको छ, पश्चगमनतिर जान खोजेको छ। त्यसलाई रोक्नका लागि जनतालाई सुसुचित गर्नुपर्छ। प्रशिक्षित गर्नुपर्छ।”
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली माओवादीलाई उक्स्काउने प्रयत्नमा लागेको आरोप प्रचण्डले लगाएका छन् । ‘जनयुद्ध’लाई हिंसा बताउँदै माओवादीहरुलाई कमजोर सावित गराउन पनि ओली लागेको आरोप प्रचण्डको छ । जनयुद्धलाई हिंसा भन्नु शान्ति सम्झौता र संविधान विपरित भएको कुरा प्रचण्डले राखेको सापकोटाले जानकारी दिए ।