प्रचण्डको आक्रामक अभिव्यक्ति : जनताको ‘राउन्ड किक’ ओलीले देख्नेछन्-Sutra News

प्रचण्डको आक्रामक अभिव्यक्ति : जनताको ‘राउन्ड किक’ ओलीले देख्नेछन्

बिहिबार, २० भाद्र २०८१

बिहिबार, २० भाद्र २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका दलका नेताहरूले ‘जनयुद्ध’को अवमूल्यन गर्न खोजेकाले भन्डाफोर अभियान चलाउने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले ‘जनयुद्ध’लाई सरकारमा रहेका दलका नेताहरूले ‘हिंसा’ भन्ने दुष्साहस गरेको भन्दै उनले जनतामा गएर भन्डाफोर गरिने बताएका हुन् ।



ठूलो बलिदानीबाट व्यवस्था परिवर्तन भएको भन्दै उनले सोही व्यवस्थाबाट लाभ लिनेहरुले जनयुद्धलाई दुत्कार्ने छुट नभएको उनको भनाई छ । जनयुद्धलाई ‘हिंसा’को रूपमा व्याख्या गरिएकोतर्फ इङ्गित गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतङ्क थियो भन्ने दुस्साहस गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर बोलेको आफूले सुनेको बताउँदै प्रचण्डले अब जनताको राउन्ड किक उनीहरूले देख्ने बताए । “प्रचण्डलाई राउन्ड किक हानेको भनेर पनि बोलेछन्, प्रधानमन्त्रीमा बसेका मान्छेले,” उनले भने, ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । उनले (केपी ओली) त मलाई राउन्ड किक हानेका रहेछन्, जनताको राउन्ड किक उनले देख्नेछन् भन्ने म ठान्छु ।’

जनयुद्धका महान् सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गरे । पटक–पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकोले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको बताए ।

‘यो हामी सबैका लागि खुसी र गर्वको विषय हो, छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट