‘अनफलो’ अभियान : ओलीले झण्डै ८० हजार गुमाउँदा बालेन र प्रचण्डकाे बढ्याे फलोअर्स-Sutra News

‘अनफलो’ अभियान : ओलीले झण्डै ८० हजार गुमाउँदा बालेन र प्रचण्डकाे बढ्याे फलोअर्स

बिहिबार, २० भाद्र २०८१

बिहिबार, २० भाद्र २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’बिचको विवाद अहिले सामाजिक सञ्जालमा छरप्रष्ट छ । जुन विवादका बिच दुवै पक्षका समर्थकले एकले अर्कोविरुद्ध अनफलो अभियान चलाएका छन् ।



यद्यपि, यो अभियानले घाटा भने ओलीलाई मात्रै परेको छ । अभियान सुरु भएयता ओलीले झण्डै ८० हजार फलोअर्स गुमाएका छन् ।

अभियान सुरु हुनपूर्व सामाजिक सञ्जाल फेसबुकमा ६ लाख ६६ हजार फलोअर्स रहेको ओलीका आधिकारिक फेसबुक पेजमा पछिल्लो दुई दिनको बिचमै झण्डै ८० हजारले फलोअर्स घटेको छ । बिहीबार मध्यान्हसम्म ओलीको फेसबुक पेजमा फलोअर्स ५ लाख ८९ हजारमा सीमित भएको छ ।

ओलीले समर्थकले बालेनविरुद्ध पनि अनफलो अभियान चलाएका छन् । यद्यपि, त्यसको असर पर्न सकेन । उल्टै योबिचमा बालेनको फलोअर्स झण्डै १ लाखले थपिए ।

अनफलो अभियान सुरु हुँदै गर्दा २ मिलियन अर्थात् २० लाख फलोअर्स रहेको बालेनको फेसबुक पेजमा अहिले २.१ मिलियन फलोअर्स पुगेका छन् ।

बालेनको फलोअर्स बढ्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि फलोअर्स थपिएका छन् । अभियान अगाडि ५ लाख ७० हजार फलोअर्स रहेको प्रचण्डको आधिकारिक फेसबुक पेजमा बिहीबारसम्म आउँदा ५ लाख ७६ हजार पुगेको छ ।

राजनीतिक क्षेत्रबाट सामाजिक सञ्जालमा सबैभन्दा बढी फेसबुक फलोअर्स हुने नेता डा. बाबुराम भट्टराई हुन् । उनको १४ लाख फेसबुक फलोअर्स छन् । बाबुरामपछि सबैभन्दा बढी ओलीको छ । यद्यपि, पछिल्लो अनफलो अभियानले उनले फलोअर्स गुमाएका छन् । यदि हालकै शैली कायमै रहे उनलाई प्रचण्डले नै फलोअर्समा जित्न सक्छन् ।

मेयर बालेनले केही दिनअघि नेकपा ९एमाले०की प्रदेश सांसद रेखा शर्माबारे फेसबुकमा स्टाटस लेखेका थिए। सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको आरोप लगाउँदै बालेनले ‘शर्मालाई किन पक्राउ नगरेको ?’ भन्दै ओलीमाथि प्रश्न गरेका थिए ।

फेसबुकमा गरिएको उक्त पोष्ट ओली समर्थकले रिपोर्ट गरेर हटाएपछि बालेन समर्थकहरुले ओलीविरुद्ध ‘अनफलो अभियान’ सुरु गरेका हुन् ।

उसो त ओली र बालेनबिच यसअघिदेखि नै विभिन्न घटनालाई लिएर विवाद चलिरहेको छ । पछिल्लो पटक काठमाडौंको नदी किनारका सुकुम्बासी बस्ती हटाउनेदेखि विभिन्न घटनामा एमाले र बालेनबिच टकरावको अवस्था देखिएको थियो ।

न्यूरोडको सडक विस्तारमा पनि एमाले र बालेन आमनेसामने देखिएका थिए । एमालेले महानगरभित्र संगठितरुपमै बालेनविरुद्ध अभियान चलाइरहेको छ । जसको उदाहरणमा पछिल्लो पटक उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरुले बालेनविरुद्ध गरेको आलोचना पनि हो ।

सम्बन्धित समाचार

सामाजिक सञ्जालमा ओली र बालेनबिच ‘छुद्र युद्ध’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट