‘७ बुँदे’ सहमति कार्यान्वयनमा किन उठ्दैछ प्रश्न ?-Sutra News

‘७ बुँदे’ सहमति कार्यान्वयनमा किन उठ्दैछ प्रश्न ?

बिहिबार, २० भाद्र २०८१

बिहिबार, २० भाद्र २०८१

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)का बिचमा ७ बुँदे सहमति भएको दुई महिना बितेको छ । असार १७ को मध्यराति दुई दलले सत्ता सहकार्यदेखि विभिन्न विषयमा सहमति गरेका थिए । सोही सहमतिका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन् ।



यद्यपि, सहमति गरिएको छोटो समयमै खटपटका घटनाहरु सतहमा देखिन थालेका छन् । दुवै दलका शीर्ष नेताहरुले सहमति कार्यान्वयनमा जे–जसरी आश्वस्त बनाउन खोजेका छन्, सोही घटनाले नै गठबन्धनभित्र सकस बढेको देखाइरहेको छ ।

‘सरकार ढल्दैन, ढुक्क हुनुस्’ भन्ने अभिव्यक्ति प्रधानमन्त्री ओलीबाटै आइरहेको छ । सँगै ओलीले ७ बुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताउँदै २ वर्ष अगाडि नै आफूले राजीनामा दिने पनि बताइरहेका छन् ।

हालै, एक मिडिया व्यवसायीको पुस्तक बिमोचनको क्रममा उनले सहमतिअनुसार तोकिएको समय अगावै आफूले सरकार छाड्ने बताएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासमेत उपस्थित उक्त कार्यक्रममा उनले यस्तो भनाई राखेका थिए ।

“अब मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ, त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु, बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ”, देउवालाई हेर्दै ओलीले भनेका थिए ।

सार्वजनिक मञ्चको प्रयोग गरी एकातिर ओलीले देउवालाई आश्वस्त पार्न खोजेका छन् भने अर्कोतिर दुवै पार्टीका नेता तथा कार्यकर्तालाई पनि सहमति कार्यान्वयन हुन्छ भन्दै विश्वास दिलाउन खोजिरहेका छन् ।

ओलीले यसरी आश्वस्तता बाँडिरहँदा ‘वेटिङ्ग पिएम’ देउवाले पनि सहमति पालना हुने भन्दै आश्वस्त सार्वजनिक मञ्चबाट अभिव्यक्ति दिइरहेका छन् । नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन क्रममा देउवाले भनेका छन्, “प्रजातान्त्रिक प्रणालीलाई जागोउनुछ, त्यसमा हामी सबै लाग्नुछ, दुई पार्टीका बिचमा खास मतभेद छैन, ओली जी र म मिलेरै सहमतिलाई कार्यान्वयनमा लैजान्छौं ।”

राणाको भ्रमणपछि खटपटको श्रृंखला

विशेषगरी कांग्रेस–एमाले गठबन्धनभित्र देउवा पत्निसमेत रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाको भारत भ्रमणपछि केही प्रश्नहरु उठिरहेको देखिन्छ । राणालाई भारतमा गरिएको भव्य स्वागत र भारतीय संस्थापन पक्षसँग उनले गरेको छलफलसँगै गठबन्धनभित्र चिसो पसेको थियो ।

यही पृष्ठभूमिमा विभिन्न शीर्ष तहबाट दिएका अभिव्यक्तिले पनि गठबन्धनभित्रको असामान्य अवस्थालाई चित्रित गर्दछ । विशेषगरी कांग्रेसको इतर पक्षबाट सशंयपूर्णरुपमा अभिव्यक्ति आइरहेको छ ।

स्वयम् महामन्त्री गगनकुमार थापाले संसद र विभिन्न सार्वजनिक मञ्चको प्रयोग गरी ओलीसँग सहकार्यको विषयमा प्रश्न उठाइरहेका छन् । हालै एक सार्वजनिक कार्यक्रमलाई सम्बोधनका क्रममा थापाले “ओलीसँगको सहकार्य निकै चुनौतिपूर्ण रहेको” बताएका थिए । ओली रणनीतिप्रति लक्षित गर्दै उनले कांग्रेसको हातमा घाटा मात्रै पर्ने अवस्थासमेत आउन लागेको टिप्पणी गरेका थिए ।

थापा मात्रै होइन, कांग्रेस संस्थापन पक्षकै कतिपयले गठबन्धनबारे असन्तुष्टि पोखिरहेका छन् । संसद र विभिन्न सार्वजनिक मञ्चको प्रयोग गरी प्रश्नहरु उठाइरहेका छन् ।

शीर्ष तहकै नेताहरुबाट पोखिएको अभिव्यक्तिले गठबन्धनभित्रको अप्ठ्यारोलाई चित्रित गर्दछ । सँगै कांग्रेसले माओवादीप्रति देखाएको नरम शैली र एमालेले देखाएको रुखो शैलीले पनि अवस्थालाई झल्काउँछ ।

ओली–प्रचण्ड भनाभन र कांग्रेस

अहिले एमाले, माओवादीविरुद्ध यति आक्रामक शैलीमा उत्रिएको छ कि पार्टी बैठक नै बसालेर ओलीले माओवादीविरुद्ध अभियान छेड्न निर्देशन दिएका छन् । हालै बसेको पोलिटब्यूरो बैठकमा ओलीले यस्तो निर्देशन गरेका थिए ।

विशेषगरी ओलीले माओवादीले नेतृत्व गरेको सशस्त्र युद्धबारे रुखो टिप्पणी गरिरहेका छन् । आफू स्वयमले ‘हिंसा’ भनिरहेका ओलीले अन्य नेताहरुलाई पनि सो हिंसाको महिमामण्डनविरुद्ध बोल्न निर्देशन गरेका छन् । संसदमा एमाले सचिव योगेश भट्टराई र नेता रघुजी पन्तको अभिव्यक्ति सोही घटनाक्रमको बिचमा आएको हो ।

जुन अभिव्यक्तिहरु पछि अहिले एमाले–माओवादीबिच सार्वजनिकरुपमा भनाभनको अवस्था छ । यद्यपि, यी घटनाक्रमका बिच कांग्रेस मौन छ । माओवादीलाई प्रतिकुल नहुने गरी आफूलाई संयमित बनाइरहेको छ ।

संसदीय समितिमा देखिएको विवादका घटनामा पनि कांग्रेस र माओवादी एकै ठाउँमा उभिएका छन् । विशेषगरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई कारबाही गर्ने शैलीमा एमालेले सार्वजनिक लेखा समितिलाई उपयोग गर्न खोज्दा कांग्रेसले समेत प्रतिवाद गरेका थियो । यसले कांग्रेस र माओवादीबिचको सम्बन्धलाई दर्शाउँछ ।

हुन पनि कांग्रेस र एमालेबिच गठबन्धन बन्दै गर्दा माओवादी देउवालाई प्रधानमन्त्रीमा मान्न तयार छौं भन्दै सार्वजनिकरुपमा भनिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट