फेरि कोइराला परिवारले दोहोर्‍याउन सक्छन् ‘२००९ साल’-Sutra News

फेरि कोइराला परिवारले दोहोर्‍याउन सक्छन् ‘२००९ साल’

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौं । विधानले तोकिएअनुसार महाधिवेशन हुने हो भने अबको १५ महिनामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ पात्र आइसक्नेछ । २०७८ मंसिरमा १४ औँ महाधिवेशन सम्पन्न गरेको कांग्रेसले ०८२ मंसिरमा १५ औँ महाधिवेशन सम्पन्न गरिसक्नुपर्छ ।



विधानले तोकिएकै समयमा महाधिवेशन हुन्छ वा हुँदैन यकिन छैन, यद्यपि कांग्रेसभित्र महाधिवेशनको सरगर्मी क्रमशः सुरु हुन थालिसकेको छ । विशेषगरी पार्टी सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनमा नउठ्ने निश्चित भएसँगै अन्य नेताहरूले नेतृत्वको लागि ‘वार्मअप’ गर्न थालिसकेका छन् ।

कांग्रेसभित्र अहिले देखिने गरी नै आगामी नेतृत्वको लागि कोइराला परिवारका सदस्यहरू केही अघि सरेका छन् । १४औँ महाधिवेशनमा देउवालाई सघाएका डा. शशांक कोइराला आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने तयारीमा छन् । उनी आफैँले आफू सभापतिको उम्मेदवार हुने घोषणा पनि गरिसकेका छन् ।

गत बुधवार चितवन भएको पत्रकार भेटघाटमा डा. शशांकले आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताएका थिए । आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनले यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरेका थिए ।

“अब सभापतिको उम्मेदवार म हुँ, अरू सोच्ने कुरै छैन” उनले भनेका छन्, “बरु सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने तिर ध्यान दिनुपर्ने छ ।”

सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका डा. शंशाकले दसैँ लगत्तै देश दौडाहा थाल्ने पनि बताएका छन् । उनले आफूलाई कांग्रेस संस्थापन प्यानलसँगै विगतको कोइराला पक्षीय समूहको पनि नेता भएको बताइरहेका छन् ।

डा. शंशाक अघि सर्दै गर्दा कोइराला परिवार भित्रबाटै डा. शेखर कोइराला पनि सभापतिको दौडमा छन् । डा. शेखरले इतर समूहसँगै संस्थापनभित्र आगामी सभापतिको लागि छलफल बढाइरहेका छन् ।

शेखरले पनि दसैँ लगत्तै कार्यकर्ताको मनोविज्ञान बुझ्न देश दौडाहामा जाने तयारी गरेका छन् । यसअघिको हारलाई जितमा बदल्ने अठोटमा उनी देखिन्छन् । १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लडेका डा. शेखर, कोइराला परिवारभित्रैबाट सहयोग नपाउँदा हारेका थिए ।

१४औँ महाधिवेशनमा डा. शंशाक र सुजाता कोइरालाले देउवालाई सघाएका थिए । सुजाता उपसभापतिमा लडेकी थिइन् । देउवासँगको सहमतिपछि डा. शशांक भने केन्द्रीय सदस्य मात्र लडेका थिए ।

यसपटक पनि मुख्यगरी डा. शंशाक र डा. शेखर दुवै पछि नहट्ने मुडमा देखिन्छन् । यस्तोमा दुवै जना मुख्य प्रतिस्पर्धी हुने सम्भावना छ । कोइराला परिवारकी सुजताले भने डा. शेखरको पक्षमा आफूलाई उभ्याएकी छिन् । गत साउन ४ गते बालुवाटारस्थित आफ्नो सचिवालयमा बोलाएर डा. शेखरले सुजाताबाट आफूलाई समर्थन हुने सार्वजनिक वक्तव्य पनि गराएका थिए । जहाँ उनले “१५ औँ महाधिवेशनमा शेखर सभापतिको उम्मेदवार हुने र त्यसमा आफ्नो पनि समर्थन रहने” वक्तव्य दिएकी थिइन् ।

यस्तो पेरिफेरिमा कांग्रेसको इतिहासमा फेरि एक पटक कोइराला परिवारभित्रै नेतृत्वका लागि अर्को लडाइँ हुने सम्भावना देखिएको छ । वि.सं. २००९ सालको पाँचौँ महाधिवेशनमा विपी र मातृका दाजुभाइबीच नेतृत्वका लागि लडाइँमा उत्रिएका थिए ।

तत्कालीन समय आन्तरिकरूपमा राजसंस्था र बाह्यरुपमा भारतीय सत्ताको चरम प्रभाव कांग्रेसभित्र पर्दा दाजुभाइ नै एकअर्कालाई सिध्याउने गरी प्रतिस्पर्धामा उत्रिएका थिए ।

तत्कालीन समय महाधिवेशनबाट बिपी त सभापति भए तर, चरम किचलो पछि पार्टी भने फुट्यो । जनकपुर महाधिवेशन सम्पन्न भएको एक वर्ष नपुग्दै मातृकाले १६ वैशाख २०१० मा आफ्नै नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’को स्थापना गरेका थिए ।

यद्यपि, त्यो इतिहास दोहोरिन नदिने कोइराला परिवारको दाबी छ । तर, दुवैले राखेको अडान हेर्दा, त्यो इतिहास दोहोरिँदैन भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट