आजदेखि देशभर चल्यो टिकटक-Sutra News

आजदेखि देशभर चल्यो टिकटक

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीबाट हुँदै आएको टिकटकको प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गरी सरकारको मन्त्रिपरिषद निर्णयअनुसार टिकटक फुकुवा गर्न निर्देशन दिएको हो ।



लामो समयदेखि प्रतिबन्ध भएको टिकटक शर्तसहित सञ्चालन गर्न दिने भएपछि टिकटकका प्रतिनिधि नेपाल आएका थिए । सरकार र टिकटकको प्रतिनिधिबीच भएको छलफलपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै शर्त मान्न तयार भएको जनाउँदै सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको थियो ।

सरकार र टिकटकका प्रतिनिधिबीच भएको छलफलपछि मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथि लाग्दै आएको रोक हटाउन निर्देशन दिएको थियो ।

सरकार र टिकटकको प्रतिनिधिबीच सामाजिक सद्भाव कायम राख्ने, टिकटक नेपालमा दर्ता हुनु पर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नु पर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नु पर्ने शर्तबारे छलफल भएको थियो । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० देखि टिकटक बन्द गरेको थियो ।

विश्वका धेरै देशहरूमा टिकटक बन्द भइरहेको अवस्थामा नेपाल सरकारले प्रतिबन्ध गरेपछि फुकुवा गर्न चीनले दबाब बढाएको थियो । नेपाली कांग्रेस–नेकपा एमालेको सत्ता गठबन्धनमा सरकार बनेपछि प्रतिबन्ध हटेको हो । सरकारले टिकटक सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि देशभर टिकटक चल्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट