काठमाडौँ । नेपाली नारीको महान् पर्व हरितालिका (तीज)का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन गरी पूजा आराधना गरेका छन् ।
दिउँसोसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । पशुपतिनाथको दर्शनका लागि अझै धेरै वर्तालु लाममा बसेका छन् । वर्तालु लाममा बसेसम्म दर्शन गर्न दिइने कोषले जनाएको छ ।
पर्वका अवसरमा आज बिहान तीन बजेदेखि पशुपतिनाथका चार वटै ढोका खोलिएको थियो । बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो ।
मूल मन्दिरभित्र प्रवेश गरिसकेपछि एउटा ढोकामा दुई लामको व्यवस्था गरिएको उनको भनाइ थियो । तीजका अवसरमा प्रथम महिला सविता पौडेलले आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम छ ।
यसैगरी तीजको व्यवस्थापन अवलोकन गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे पनि पशुपति क्षेत्र जाने जनाइएको छ ।
पर्वका अवसरमा मूल मन्दिरभित्र करिब छ सय महिला प्रहरी मात्र खटाइएको जनाइएको छ । कोषले तीजका अवसरमा आज वर्तालु महिलालाई मात्र प्रवेश गराएको छ ।