दुर्गा प्रसाईंको बीएण्डसीले एमबीबीएस पढाउन पायो औपचारिक स्वीकृति-Sutra News

दुर्गा प्रसाईंको बीएण्डसीले एमबीबीएस पढाउन पायो औपचारिक स्वीकृति

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ । बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च प्रा.लि.ले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।



कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउने गरी सिट निर्धारण भएको बताइन् । आयोगले शुक्रबार सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनको भनाइ थियो ।

झापाको विर्तामोड नगरपालिका ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विं.सं. २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

नेपाल सरकारबाट ०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताएकी थिइन् ।

सर्वोच्च अदालतले ०८० चैत्र १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

व्यवसायी दुर्गा प्रसाईको लगानीमा सञ्चालनमा आएको बीएण्डसीमा अहिले अस्पतालको सेवा सञ्चालन भइरहेको छ । सर्वोच्चको आदेशलगत्तै यसअघिको सरकारले बीएण्डसीलाई सम्बन्धन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट