सुत्केरीको मृत्युपछि दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमति-Sutra News

सुत्केरीको मृत्युपछि दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमति

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ । रौतहटको गरुडा नगरपालिका ५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्युबारे दोषीलाई कारवाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।



इलाका प्रहरी कार्यालय गरुडामा शुक्रबार राति बसेको दुई पक्षीय बैठकमा पीडित परिवारलाई राहत स्वरूप तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने, घटनाको छानबिन गर्न सर्वदलीय कमिटी गठन गर्ने, अस्पतालमा तोडफोड गर्नेलाई कारबाही गर्ने निर्णय भएपछि सहमति भएको थियो ।

सहमतिलगत्तै राति ११ बजे शिवनगरस्थित बाटो खुलाएर मृतक सुत्केरी महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताएका छन् ।

दुई पक्षीय बैठकमा गरुडाका मेयर कन्थमणि जैसवाल, मेयर प्रत्याशीहरु सुनिल कुमार यादव, ब्रिज किशोर यादव, अनिल कुमार यादव, जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरी प्रमुख एसपी बिक्रम हुमागाईं, सहायक सिडिओ नरेश कुमार यादव, वडा अध्यक्ष रामबाबु चौधरी लगायत पीडित परिवारका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकमा मेयर जैसवालले नगरपालिकाबाट तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहको श्रीमती वर्ष २५ की रमिता देवीलाई सुत्केरी ब्यथा लागेपछि सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीवार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट