काठमाडौं । संसदीय विशेष समितिले बयान लिँदै गर्दा खास उत्तेजित नभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, जब कास्की प्रहरीले बयानका लागि बोलायो तब, निकै आक्रामक देखिए । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा कास्की प्रहरीले छानबिनका लागि बोलाएपछि लामिछानले सार्वजनिकरुपमा “सक्छौ भने मलाई थुन, हत्कडी लगाऊ, यदि सक्दैनौ भने म तिमीहरुलाई यत्तिकै छाड्ने छैन, अल् भर्सेज रास्वपा”, भन्ने अभिव्यक्ति दिएका थिए ।
यद्यपि, उनले प्रक्रियालाई आत्मसात गरेको भन्दै भदौ १० मा प्रहरीलाई बयान दिए । कास्की प्रहरीले सो सहकारीबारे लामिछानेसहित रास्वपाका सहमहामन्त्री विपिन आचार्य र पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिएको थियो ।
लामिछानेले प्रहरीलाई इन्कारी बयान दिएका छन् । डीएसपी वसन्तकुमार शर्मासँगको बयानमा उनले भनेका छन्, “सहकारीको रकमबारे मलाई केही थाहा छैन, मलाई थाहै नदिई कसले मेरो नाममा के ग¥यो त्यो थाहा हुने विषय पनि भएन, कम्पनीबाट अलग भइसकेकाले त्यहाँको आर्थिक कारोबारको पाटोमा म जानकारी छैन ।”
योबीचमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका छन् । यद्यपि, उनको चिटचिहाटपन सामान्य देखिएको छ ।
प्रहरीलाई बयान दिएपछि पनि उनले आफूमाथिको छानबिनलाई राजनीतिक रंग दिन खोजे । भदौ ११ मा कोशी पुगेका लामिछानेले “जनआक्रोश बढ्दै जाँदा जनआन्दोलन हुन सक्छ, त्यसलाई हामी अग्रपंक्तिमा बसेर नेतृत्व गर्नेछौं”, भन्ने अभिव्यक्ति दिए । विशेषगरी बंगलादेशको सन्दर्भलाई जोडेर उनले आफ्नो भनाई राखेका थिए ।
हुन पनि सहकारी प्रकरणमाथिको छानबिन अहिले लामिछाने केन्द्रीत बनेको छ । एकातिर संसदीय समिति र अर्कोतिर प्रहरी पनि लामिछानेलाई नै केन्द्रीत बनाएर छानबिनमा जुटेका छन् ।
संसदीय छानबिन समितिका सभापति सुर्य थापाले सार्वजनिकरुपमै लामिछाने दोषी देखिएको बताएका छन् । एक दैनिक पत्रिकारसँगको कुराकानीमा थापाले रवि लामिछानेको नाममा बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शनलगायत संस्थाबाट गोर्खा मिडियामा पैसा ल्याएको प्रमाण भेटिएको बताएका छन् । उनका अनुसार रवि लामिछाने– सिर्जना चोक कास्की, बुटवल–११ भनेर ऋण खडा गरिएको छ ।
“जीबी राईले सानोपाइला, सुप्रिम, सूर्यदर्शन, साहारा र स्वर्णलक्ष्मी गरी पाँचवटा संस्थाबाट कहीं सिधै र कहीं विभिन्न व्यक्तिका नाममा ऋण खडा गरेर तिनै व्यक्तिका नाममार्फत कम्पनीहरूमा रकम पठाएको देखिन्छ , सोही क्रममा रवि लामिछानेको नाममा पनि बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शनलगायत संस्थाबाट ऋण खडा गरेर पैसा ल्याएको देखिन्छ । त्यो पैसा फेरि गोर्खा मिडिया नेटवर्कको नाममा नामसारी गरिएको छ ।”, उनले भनेका छन्, “ विभिन्न मान्छेको नाममा ऋण खडा गरेर पेस्की फर्छ्योट गरेको देखिन्छ । रवि लामिछाने– सिर्जना चोक कास्की, बुटवल–११ भनेर ऋण खडा गरिएको छ । ती नाम नक्कली भएको भनिए पनि त्यो पैसा गोर्खा मिडिया नेटवर्कमा आएको छ ।”
संसदीय समितिले छानबिनलाई टुंग्याउँदैछ । थपिएको १५ दिनभित्रै प्रतिवेदन तयार गर्ने तयारीमा समिति छ ।
यस्तोमा प्रमाणहरु प्रतिकुलमा देखिँदा लामिछाने कसरी उम्किएलान् भन्ने प्रश्न उठेको छ । बिडम्बनाको विषय मान्नुपर्छ, लामिछाने र आचार्यसँगै अन्य शीर्ष नेता पनि यस प्रकरणमा मुछिएका छन् । उपसभापति डिपी अर्याल र कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटी पनि यस प्रकरणमा मुछिँदा रास्वपा कोर टिम नै के हुने अन्योल देखिन्छ ।