कांग्रेस–एमाले मिल्दा माओवादीमा पलाएको अनौठो खुसी !-Sutra News

कांग्रेस–एमाले मिल्दा माओवादीमा पलाएको अनौठो खुसी !

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

काठमाडौं । असार १७ को मध्यराति नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको ७ बुँदे सहमतिसँगै नेकपा (माओवादी केन्द्र), संघको सत्ताबाट मात्रै पाखा फालिएन, प्रदेशको सत्ताबाट पनि बाहिर हुत्तियो । निरन्तर डेढ वर्ष जति सत्ता नेतृत्वमा राइँदाइँ मच्चाएको माओवादी केन्द्र अहिले जताततै प्रतिपक्ष बनेको छ ।



सत्ताबाट पाखा हुत्तिएसँगै माओवादी केन्द्रभित्र अहिले छलफल तथा समीक्षा हुन थालेका छन् । विशेषगरी पार्टीको आगामी नीति के हुने, नेतृत्व कसले गर्नेलगायतका प्रश्नमा छलफल चल्न थालेका छन् ।

स्थायी समिति बैठकपछि माओवादी केन्द्र अहिले प्रदेश र जिल्ला तहका बैठकहरूमा केन्द्रित छ । जहाँ पदाधिकारी तहकै नेताहरू उपस्थित भएर छलफल चलाइरहेका छन् ।

यसरी आन्तरिक छलफलमा जुट्दै गर्दा लामो समयपछि माओवादी आन्तरिकरूपमा बल्ल बौरिन थालेको छ । विवादहरू सतहमा देखिए पनि माओवादीभित्र नेताहरू पार्टी कसरी बनाउने भन्ने कोणबाट छलफलमा देखिन्छन् । जसको लक्षण पार्टीका बैठकसँगै पार्टीका विभिन्न संगठन तथा विभागहरूका बैठक पनि हुन् ।

सधैँ सत्ताको लेनदेनमा अल्झिरहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अहिले निरन्तर पार्टी बैठकमा केन्द्रित छन् । उनी बैठकका लागि देश दौडाहा पनि निस्किरहेका छन् ।

आइतबार विराटनगर पुगेका प्रचण्डले पार्टी अवसर फेरि जुटेको भन्दै खुसी व्यक्त गरे । उनले कांग्रेस–एमाले सत्तामा रहनु माओवादी केन्द्रका निम्ति ठुलो अवसर भएको बताए ।

“हामीले नेपाली कांग्रेस र एमालेलाई एक अर्थमा धन्यवाद भनेका छौं, उहाँहरूले हामीलाई पार्टी पुनर्निर्माण गर्ने राम्रो अवसर दिनुभयो”, प्रचण्डले भनेका छन्, “मैंले त भन्छु तपाईँहरू ०८४ सम्मै मिलिराख्नु, मिलिराख्नु भयो भने हामीलाई राम्रै हुन्छ ।”

भ्रष्टाचारका मुद्दाहरूमा जसरी दुई दल जुटेका छन्, यसले माओवादीको बेग्लै पहिचान देखाएको पनि उनको भनाई छ ।

प्रचण्डले भने झैँ साँच्चिकै उनी पार्टी निर्माणमा छन् भने यो माओवादीका निम्ति निकै राम्रो अवसर हो, यद्यपि यो सत्ताका निम्ति पुनः बार्गेनिङ टुल्स बन्दैन भनेर भन्न सकिन्न । यद्यपि, ‘पिसाब फेर्ने र दैलो देख्ने’ उखान सेलाएको छैन ।

वामपन्थी विश्लेषक मुकुन्द आचार्य इमान्दारीतापूर्वक प्रचण्डले आफूलाई सच्याउने र माओवादी बनाउन लाग्ने हो भने अवसर रहेको बताउँछन् । उनका अनुसार सबैभन्दा पहिले प्रचण्ड नै सच्चिनु पर्छ ।

“अहिले शीरदेखि पाऊसम्मै माओवादी बिग्रिएको छ, जबसम्म सच्चिने अवस्था हुँदैन तबसम्म पार्टी पुननिर्माण होला भनेर कल्पना गर्न सकिन्न”, आचार्य भन्छन्, “त्यसका लागि ठूलो त्याग चाहिन्छ, सबैभन्दा मुख्य कुरा नेतृत्वले आत्माआलोचना गर्दै सच्चिने अठोट गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट