काठमाडाैं । बन्दीपुर हिल तथा बन्दीपुर केबलकार एन्ड टुरिजमको आयोजनामा सञ्चालित तीज सप्ताह सम्पन्न भएको छ । पर्यटकीय एवम् सांस्कृतिक ग्राम बन्दीपुरमा नेपालको इतिहासमा नै सम्भवतः लामो तीज मेला ८ दिन पूरा गर्दै सम्पन्न भएको हो ।
तीज मेलाको उद्घाटन महानायक राजेश हमालले गरेका थिए । मेलामा तीज प्रतियोगिताका साथै बृहत्तर सांस्कृतिक तीज कन्सर्ट पनि आयोजना गरिएको थियो । तीज गीत प्रतियोगितामा ५५ वटा समूहले नाम दर्ता गरे पनि ३७ समूहले मात्र भाग लिएका थिए ।
प्रतियोगिता दुई चरणमा भएको थियो । फाइनल राउन्डमा २१ समूहहरूको प्रस्तुति गरिसकेपछि प्रथम, द्धितिय, तृतीय, चौथौ बाहेक उत्कृष्ट १० समूह, उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभुषासमेत र उत्कृष्ट शब्द चयन तथा प्रस्तुति विधा गरी १७ टिमले पुरस्कार प्राप्त गरेका थिए ।
उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभुषा तर्फ प्रथम स्थान एकता मगर समाज म्याग्दे तनहुँले हासिल गरेको थियो भने द्वितीय स्थान वाग्लुङ्ग कालिका भजन किर्तन सत्सङ्गले हासिल गरेको थियो । तृतीय स्थान तनहुँको भानु हरियाली प्राकृतिक कृषक महिला समूह र चौथो बन्दीपुरको केराबारी महिला समूहले हासिल गरेको थियो ।
प्रतियोगिता खड्गदेवी मन्दिरको प्राङ्गणमा सञ्चालन गरिएको थियो । निर्णायक एवं प्रतियोगिताको सांस्कृतिक विभाग प्रमुख डा तुलसीराम खनालले प्रतियोगितामा २१ हजार बढीको सहभागिता थियो ।
बन्दीपुरको धार्मिक एवं सांस्कृतिक पक्ष प्रस्फुटन गराउने उद्देश्य सहित आयोजित प्रतियोगिताको संरक्षकमा बन्दीपुर गाउँपालिका थियो । तीज सप्ताह उत्सव कार्यक्रममा करिब २१ लाख रुपैयाँ खर्च भएको आयोजकले बताएको छ ।