काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफूमाथि लागेका आरोपमा छानबिन गर्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले सहकारी छानबिन समितिको प्रतिवेदन आउन लाग्दा आफूमाथि आरोप लगाएर विषयान्तर गर्न खोजिएको आरोप लगाए ।
आफू खुल्ला किताबजस्तो रहेको दाबी गर्दै संसदीय छानबिनका लागि तयार रहेको उनको भनाइ थियो । उनले लामो समयदेखि सम्बन्ध बिग्रिएर २०७६ सालमा श्रीमती ज्योती गुरुङसँग सम्बन्ध बिच्छेद गरेको जिकीर गरे ।
सम्बन्ध बिच्छेद भएकी श्रीमतीले गरेको दोषमा आफू भागिदार नहुने बताउँदै उनले बिगतमा लागेको आरोपमा निर्दोश सावित भएको बताए । उनीमाथि मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।