मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीको स्टुडेण्ट ओरिएन्टेसन कार्यक्रम चन्द्रागिरि हिल्स रिसोर्टमा सम्पन्न-Sutra News

मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीको स्टुडेण्ट ओरिएन्टेसन कार्यक्रम चन्द्रागिरि हिल्स रिसोर्टमा सम्पन्न

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१

काठमाडाैं । मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी, बागबजार, काठमाडाैंले ४ वर्षे बीबीए र बीआईटी अन्तर्गत शरद सत्र २०२४ का नयाँ विद्यार्थीहरूको ओरिएण्टेसन भव्यताका साथ सम्पन्न गरेको छ। दुई दिने ओरिएन्टेसन कार्यक्रम सेप्टेम्बर ४ र ५ मा चन्द्रागिरि हिल्स रिसोर्टमा भएको हो।



उक्त कार्यक्रममा संस्थामा नयाँ विद्यार्थीहरूलाई भविष्यको शैक्षिक यात्रा र क्यारियर विकासबारे संस्थाका अध्यक्ष, कार्यकारी प्रमुख, एकेडेमिक डाइरेक्टर, प्राध्यापकहरू र अन्य वक्ताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीहरूलाई संस्थको शैक्षिक दृष्टिकोण, व्यवस्थापन प्रणाली, शैक्षिक नियम तथा कक्षाका पाठ्यक्रमहरूसँग परिचित गराउनु, सहकर्मीहरूबीच आपसी चिनजानको अवसर प्रदान गर्नु, तथा तिनीहरूको व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्न सहयोग गर्नु रहेको संस्थाका अध्यक्ष सुरेन्द्र सुबेदीले जानकारी दिए।

सुबेदीले नव विद्यार्थीहरुलाई मोडल इन्स्टिच्यूट अफ टेक्नोलोजीमा भर्ना भएकोमा बधाई दिँदै विश्वविद्यालयका सम्वन्धमा सोधिएका प्रश्नहरुको जवाफ दिँदै कलेजको ५ वर्षे योजना तथा त्यसकालागि गरिने क्रियाकलापको अवगत गराउँदै भर्ना भएका विद्यार्थीलाई गौरभ गर्न लाएक संस्था बनाउने प्रतिवद्धता व्यक्त गरे । साथै नयाँ विद्यार्थीहरूलाई आफ्नो जिम्मेवारी र अध्ययनप्रति गम्भीर हुन प्रेरित गर्दै संस्थानका नियमहरू, मूल्यहरू र अवसरहरूको पूर्ण उपयोग गर्न अनुरोध गरे ।

प्रमुख वक्ताका रूपमा रहेका ट्रांस्फारमेसनल कोच तथा मा माइन्डसेट मेण्टर नर बहादुर कार्कीले प्राविधिक शिक्षा र नवप्रवर्तनशील सोच विषयमा आफ्नो मन्तव्य राख्दै नयाँ पुस्ताका लागि अनुकूल अवसरहरू सिर्जना गर्न र नवप्रवर्तनशील सोच आवश्यक रहेको बताए । कार्कीले मानिस अन्य प्राणी भन्दा भिन्न हुनु नै उसको बौद्धिकता भएको बताउँदै सुचना प्रविधि र ज्ञान विश्वजगतमा आज एक बलियो मुद्रा भएको सत्यता उजागर गराउँदै नयाँ भर्ना भएका विद्यार्थीलाई सफल भविष्यको कामना गरे ।

ओरिएन्टेसन कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख आर.के. दाहालले आफ्नो अनुभव तथा ज्ञान प्रेरणदायी हिसावले प्रस्तुत गरेको थिए । उनले उद्यमशीलता, व्यवस्थापन र सूचना प्रविधिका क्षेत्रका भविष्यमा कसरी सफल क्यारियर बनाउन सकिन्छ भन्नेबारेमा विभिन्न उदाहरणहरु प्रस्तुत गर्दै महत्वपूर्ण सुझावहरू प्रदान गरे।

कार्यक्रममा संस्थाको एकेडेमिक डाइरेक्टर देवीचरण न्यौपानेले विद्यार्थीहरूलाई मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीले उपलब्ध गराउने अवसर र स्रोतहरूबारे प्रकाश पार्नुका साथै विश्वविद्यालयले गर्ने विद्यार्थीको सुपरिवेक्षण तथा अवलोकनका विषयमा प्रकाश परेका थिए ।

ओरिएन्टेसनका क्रममा विद्यार्थीहरूका लागि विभिन्न गतिविधिहरूको पनि आयोजना गरिएको थियो। समूहगत गतिविधिहरू, खेलकुद कार्यक्रमहरू र नेतृत्व विकास कार्यशाला कार्यक्रमहरूले विद्यार्थीहरूमा सहकार्य र नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याएको थियो। यसबाहेक, विद्यार्थीहरूबीचको परस्पर संवाद र सहकार्यलाई प्रोत्साहन गर्न टोलीगत छलफल कार्यक्रमहरू पनि राखिएका थिए।

कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई चन्द्रागिरि हिल्सको रमणीय वातावरणको अवलोकन गर्न समय प्रदान गरिएको थियो, जसले उनीहरूमा शैक्षिक यात्रा सुरु गर्न नयाँ उत्साह र प्रेरणा थपेको थियो।

यो दुई दिने कार्यक्रमले नयाँ विद्यार्थीहरूमा आत्मविश्वास र उत्प्रेरणा थप्न मद्दत पुर्‍याएको छ भने संस्थानप्रति विद्यार्थीहरूमा विश्वास र समर्पणको भावना जागृत गराएको छ। मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीले आफ्नो शैक्षिक गतिविधिमा उत्कृष्टता कायम गर्दै, भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट