काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानविन हुनु पर्ने बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनु पर्ने पार्टीको नीति रहेको बताए । यस क्रममा उनले उपसभापति गुरुङका विषयमा निष्पक्ष छानबिन हुनु पर्ने बताएका हुन् ।
गुरुङ आफैले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ नगर्न नहुने उनको भनाइ थियो । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिए छानबिन हुनु पर्ने बताउँदै दोषी देखिए कारबाही गर्नु पर्ने बताएका हुन् ।
यस्तै, थापाले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन साझा न्यूनतम कार्यक्रम ल्याउने तयारी भइरहको जानकारी दिए ।