काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । आफू मुख्यमन्त्री भएको बेलामा ल्याइएको कार्यक्रम र योजना हटाइएको भन्दै उनी विराटनगरस्थित प्रदेशसभा अगाडिको वनस्खण्डी महादेव मन्दिर परिसरमा अनशन सुरु गरेका हुन् ।
उनले वर्तमान सरकारले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन हटाएको आरोप लगाएका छन् ।
यस्तै सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, डाक्टर, इञ्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति, जनावर मैत्री जंगल कार्यक्रम समेत वर्तमान प्रदेश सरकारले हटाएको भन्दै कार्की अनशन बसेका हुन् ।
आमरण अनसनमा कार्कीलाई स्थानीय नेता कार्यकर्ताले साथ दिए पनि प्रदेश सांसद शमशेर राईबाहेक अन्य प्रदेश सांसदले साथ दिएका छैनन् । कोशीको सत्तारुढ गठबन्धनमध्ये कांग्रेसका प्रदेश सांसदसमेत रहेका पूर्व मुख्यमन्त्री कार्कीले वर्तमान कोशी प्रदेश सरकारविरुद्ध आमरण अनसन सुरु गरेका हुन् ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले केदार कार्कीको विरोध व्यक्तिगत भएको र यसबारे प्रदेश पार्टी बैठक र संसदीय दलमा छलफल हुने जानकारी दिए ।