सेयर बजारमा थामिएन पहिरो, अबको यात्रा कता ?-Sutra News

सेयर बजारमा थामिएन पहिरो, अबको यात्रा कता ?

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) पनि सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ । बुधबार २२.७३ अंकले घट्दै नेप्से २६१०.२१ को बिन्दुमा ओर्लिएको छ ।



नेप्से यो सातामात्रै ११७ अंकले घटेको छ । ओरालो यात्रालाई पछ्याउँदै आइतबार २५.४६ अंकले घटेको नेप्से सोमबार ५५.८६ र मंगलबार १३.०९ अंकले घटेको थियो ।

सँगै नेप्सेमा कारोबार रकम पनि तिव्र गिरावट आएको छ । बुधबारसम्म आउँदा कारोबार रकम ६ अर्ब ८५ करोड ११ लाखमा सीमित भएको छ । बुधबार १ करोड ५४ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा सो बराबरको कारोबार भएको हो ।

ओरालो यात्राका बिच बुधबार अधिकांश कम्पनीका मूल्य घटे । कारोबारमा आएका २४३ कम्पनीमध्ये १७५ कम्पनीको मूल्य घट्यो भने ६५ कम्पनीको मूल्य बढ्यो । आज ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

विशेषगरी बजार निरन्तर घटेसँगै धेरै लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् । जसको प्रभाव कारोबार रकमसँगै इन्डेक्समा परेको छ । जसले आममा निराशा पनि पैदा गरेको छ ।

केही बजार विश्लेषकले यसलाई करेक्सन भनेका छन् भने केही चाडवाडको प्रभावको रुपमा लिएका छन् । यद्यपि, यो प्रभाव कहिले र कहाँसम्म पुग्ला अन्योल देखिन्छ ।

यद्यपि, लगानीकर्ता तथा विश्लेषक प्रकाश रजौरे यो करेक्सनको मोड भएको हुनाले आत्तिन नहुने बताउँछन् । उनका अनुसार करेक्सनको लागि अंकसँगै समय पनि चाहिन्छ ।

“हामी बुल मार्केटमा छौं, बुल मार्केटमा यस्ता उतारचढाव हुनु स्वभाविक हो, करेक्सन आउँछ, त्यसबाट आत्तिन पदैन”, रजौरेले भनेका छन्, “करेक्सनका लागि समय र अंकको उत्तिकै महत्व रहन्छ, यो पूरा भएसँगै बजारले पुनः लय लिन्छ ।”

अबको केही कारोबार दिनसँगै नेप्सेले करेक्सनको कोर्ष पूरा गर्ने उनको भनाई छ । अन्य कारण केही नभएको हुनाले नेप्से पुरानै अवस्थामा पुग्ला भनेर कल्पना गर्नु व्यर्थ हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट