भक्तपुर दुर्घटना– स्कुटरलाई ठक्कर दिने ट्रक चालक जेल चलान-Sutra News

भक्तपुर दुर्घटना– स्कुटरलाई ठक्कर दिने ट्रक चालक जेल चलान

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा स्कुटर चालकको ज्यान जाने गरी भएको दुर्घटनामा पक्राउ परेका ट्रक चालकलाई कारागार चलान गरिएको छ ।



मध्यपुर थिमि नगरपालिका ३ को दुर्घटनामा परेको ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका २ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

श्रेष्ठविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२)को कसुरमा मुद्दा दर्ता गरिएको थियो । उपदफा (२)मा ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाउँदा कसैको मृत्यु भएमा कसुरको मात्रा हेरी २ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ ।

साउन ३१ गते दिउँसो १ः४० बजेतिर श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा ४९ प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ घर भई काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको थियो ।

उक्त घटनामा स्थानीयबासीले ट्राफिकले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै प्रदर्शन गरेका थिए । घटनाको छानबिन गर्न भक्तपुरका सहायक सीडीओ डोरेन्द्र निरौला र प्रहरीले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी प्रजित केसी नेतृत्वमा दुई समिति बनेका थिए ।

दुवै समितिले ट्राफिकले दुर्घटनामा परेका सवारी नरोकेको निष्कर्ष निकाल्दै ट्राफिकको गल्ती नरहेको उल्लेख गर्दै प्रतिवेदन बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट