काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतले फिल्म ‘डेनी डेन्जरस’ बनाउने भएका छन् ।
बुधबार थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको घोषणा गरेका हुन् । पोस्टरमा ग्याङ्स्टर कथामा बन्न लागेको संकेत देखिएको छ । रगतले रङ्गिएको पोस्टरमा बन्दुकदेखि चक्कुसम्म देखिन्छ । यो निश्चलको पाँचौं निर्देशकीय फिल्म हुनेछ ।
निश्चलकै कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा बन्न लागेको फिल्म सन् २०२५ मा रिलिज गरिने उल्लेख छ । फिल्ममा अभिनय गर्ने कलाकारको बारेमा कुनै जानकारी प्राप्त गर्न सकेको छैन ।
यद्यपि, निश्चलले मुख्य भूमिकामा केही कलाकारलाई निश्चित गरिसकेको जनाइएको छ । चाँडै नाम सार्वजनिक गर्ने उनको तयारी छ । यो फिल्मको छायांकन तिहारपछि सुरु गरिँदैछ ।
‘डेनी डेन्जरस’ रिलिजपछि निश्चलले ‘दिमाग खराब’को सिक्वेल बनाउने छन् । जसलाई २०८३ सालमा प्रदर्शन गर्ने उनको तयारी छ ।
उनले अभिनेत्री स्वस्तिमा खड्कासँग मिलेर निर्माण गरेको फिल्म ‘बेहुली फ्रेम मेघौली’ दशैँको समयमा प्रदर्शन हुँदैछ । स्वस्तिमा बस्नेतकी श्रीमतीसमेत हुन् ।