नेप्सेमा उच्च अंकको बृद्धि, के करेक्सन कोर्ष सकिएको हो ?-Sutra News

नेप्सेमा उच्च अंकको बृद्धि, के करेक्सन कोर्ष सकिएको हो ?

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडौं । लगातार गिरावटका बिच साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको बृद्धि भएको छ । ६ कारोबार दिनको भारी गिरावटपछि बिहीबार एकै दिन ७८.१७ अंकले नेप्से बढेको हो ।



बिहीबारको बृद्धिसँगै नेप्से २६८८.३८ को बिन्दुमा उक्लिएको छ ।

बिहीबार सूचकसँगै कारोबार रकममा पनि बृद्धि भएको छ । १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच हुँदा बिहीबार कारोबार रकम ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँ बराबरको भयो । जुन पछिल्ला दुई कारोबार दिनयताको उच्च हो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २२९ कम्पनीको मूल्य बढ्यो । १२ कम्पनीको मूल्यमा केही गिरावट आउँदा ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज सामूहिक लगानी बाहेक सबै समूहका सूचक बढे । बैंकिङ २.६६ प्रतिशतले बढ्दा विकास बैंक २.७० प्रतिशतले बढ्यो भने फाइनान्स ३.४० प्रतिशतले बढ्यो । यसैगरी, होटल तथा पर्यटन २.५० प्रतिशतले बढ्दा हाइड्रोपावर ४.२४ प्रतिशतले बढ्यो भने लगानी ३.७२ प्रतिशतले बढ्यो ।

जीवन बिमा ३.४६ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन २.१४ प्रतिशत र लघुवित्त १.५८ प्रतिशतले बढ्यो । निर्जीवन बिमा २.०१ प्रतिशतले बढ्दा अन्य ३.८२ र व्यापार ०.६३ प्रतिशतले बढ्यो ।

उच्च अंकले नेप्सेमा बृद्धि हुँदा आज पाँच कम्पनीको मूल्य १० प्रतिशतले हाराहारीले बढ्यो भने चार कम्पनीको मूल्य ९ प्रतिशत हाराहारीले बढ्यो । यसैगरी, ४ कम्पनीको मूल्य ८ प्रतिशत र ६ कम्पनीको मूल्य ७ प्रतिशतले बढ्यो ।

यद्यपि, थ्रि स्टार हाइड्रोको मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो ।

आज कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । जसको कारोबार रकम मात्रै ४७ करोड ६५ लाख ८ हजार रुपैयाँको भयो ।

निरन्तर बृद्धिका बिच साउन ३१ मा ३ हजारको बिन्दुमा उक्लिएको नेप्से त्यसयता करिब ओरालो यात्रामा थियो । ओरालो यात्राका बिच पछिल्लो ६ कारोबार दिनमा नेप्से निरन्तर उच्च अंकले घटेको थियो ।

यद्यपि, बिहीबारको कारोबारसँगै भने नेप्से पुनः लयमा फर्किएको अनुमान गरिएको छ । बजार विश्लेषकहरुले करेक्सन सकिएको बताएका छन् ।

“झण्डै एक हजारको बृद्धि भएको नेप्से पछिल्लो केही कारोबार दिनदेखि करेक्सन मुडमा गएको थियो, जुन करेक्सनको कोर्ष पूर्ण भएको छ”, बजार विश्लेषक जगतजङ्ग जिसी भन्छन्, “प्राविधिक विश्लेषण गर्दा पनि बजार बढ्ने देखिन्छ, अब कुनै अवरोध देखिन्न ।”

पछिल्लो पटक सत्तारुढ दलबिच सरकार सञ्चालनलाई लिएर भएको सहमतिले पनि बजारमा उत्साह ल्याएको उनको भनाई छ । “सरकार त बन्यो तर के हुने हो, के हुने हो भन्ने भइरह्यो”, उनले भनेका छन्, “पछिल्लो सहमतिले त्यो मनोविज्ञानलाई तोडेको छ, जसको प्रभाव बजारमा देखिएको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट