प्रकाश सपूतले किन ‘पूर्णबहादुरको सारङ्गी’को प्रचारलाई बेवास्ता गरे ?-Sutra News

प्रकाश सपूतले किन ‘पूर्णबहादुरको सारङ्गी’को प्रचारलाई बेवास्ता गरे ?

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडौं । कलाकारहरू आफू जोडिएको फिल्मको प्रचार–प्रसारमा निकै खटिन्छन् । हुन पनि आफू जोडिएको फिल्मको सफलता नै आफ्नो पनि सफलता हो । तर, फिल्म लाइनमा नदेखिएको अनौठो लाग्ने घटना, चर्चित कलाकार प्रकाश सपुतसँग जोडिएको छ ।



उनी मुख्य भूमिकामा रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ आगामी कात्तिक १५ गतेदेखि रिलिज हुँदैछ । जसको केही दिनअघि, बुबाको मुख हेर्ने दिनको मेसोमा टिजर सार्वजनिक भएको थियो । जुन टिजरको सामाजिक सञ्जालमा निकै तारिफ भइरहेको छ ।

यद्यपि, अन्य कलाकारहरू उक्त टिजरको प्रचार–प्रसार गर्न हौसिँदा प्रकाश सपूत भने मौन छन् । उनले अहिलेसम्म पनि सामाजिक सञ्जालमा जसबारे एक शब्दसमेत उप्काएका छैनन् ।

टिजरलाई हेर्दा, फिल्मको मुख्य भूमिकामै विजय बराल र प्रकाश सपूत देखिन्छन् । टिजरअनुसार बराल र सपूत बाबु–छोराको भूमिकामा देखिन्छन् ।

स्वयम् बरालले पनि टिजरसहित फिल्मसँग जोडिएका विभिन्न कुराहरू सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् । तर, यसमा सपूत भने पूर्ण मौन छन् ।

सामाजिक सञ्जालमा उनको गतिविधिलाई हेर्दा, उनले ‘पूर्णबहादुरको सारङ्गी’लाई पूर्ण बेवास्ता गरिदिएका छन् ।

बरु, प्रकाश सपुत चैत २२ मा रिलिज हुने आफ्नै अर्को फिल्म ‘वसन्त’को प्रचारमा जुटेका छन् । उनले सामाजिक सञ्जालमा ‘वसन्त’को पोस्टरलाई प्रचार गरिरहेका छन् ।

किन सपूत कात्तिक १५ मै सार्वजनिक हुन लागेको फिल्मको प्रचारलाई बेवास्ता गर्दै चैतकै तयारीमा जुटे ? सपूत नजिकका अनुसार ‘पूर्णबहादुरको सारङ्गी’ र ‘वसन्त’को रिलिज डेटलाई लिएर सपूत खुसी छैनन् । उनले ‘वसन्त’ फिल्मको रिलिज पहिला होस् भन्ने चाहेका थिए । तर, उनको चाहना पूरा हुन पाएन ।

जसको असन्तुष्टि स्वरूप, उनले ‘पूर्णबहादुरको सारङ्गी’को प्रचारलाई बेवास्ता गरे ।

प्रकाश नै यदि असन्तुष्ट हुन् भने ‘पूर्णबहादुरको सारङ्गी’ कसरी सफल होला ? प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट