चीनमा आर्थिक मन्दी हुँदा विश्वभर घट्यो इन्धनको माग-Sutra News

चीनमा आर्थिक मन्दी हुँदा विश्वभर घट्यो इन्धनको माग

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडौँ । चीनको आर्थिक मन्दीको कारण २०२४ को पहिलो अर्ध वार्षिकसम्म विश्वव्यापी तेलको माग सबैभन्दा सुस्त गतिमा बढेको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)ले जनाएको छ ।



सन् २०२३ को पहिलो छ महिनामा इन्धनको माग २३ लाख ब्यारेल प्रतिदिन रहेकोमा सन् २०२४ को सोही अवधिमा प्रतिदिन आठ लाख ब्यारेलमा पुगेको आइइएले आफ्नो मासिक तेल बजारको प्रतिवेदनमा जनाएको छ ।

मन्दीको मुख्य कारण सुस्त भएको चिनियाँ अर्थतन्त्रमा जुलाईमा लगातार चौथो महिनाका लागि उपभोग दरमा सङ्कुचित आएको आइइएले जनाएको छ ।

विश्वको शीर्ष उपभोक्ता र तेलको आयातकर्तामध्ये विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन कमजोर उपभोक्ता खर्च, घरजग्गा कारोबारमा आएको संकट र उच्च बेरोजगारीको बीचमा संघर्ष गरिरहेको छ ।

जिवावशेष इन्धनको सट्टा वैकल्पिक ऊर्जातर्फ रूपान्तरण गर्ने चीनको नीति पनि इन्धन खपतमा न्यूनता आउनुमा जिम्मेवार रहेको आइइएले जनाएको छ ।

यस हप्ता, अन्तर्राष्ट्रिय मापदण्डअनुसार ब्रेन्ट नर्थ सीबाट प्रशोधन हुने इन्धन डिसेम्बर २०२१ पछि पहिलो पटक प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ ।

मूल्यमा आएको गिरावटले साउदी अरब र रूससहित तेल उत्पादन तथा प्रशोधन गर्ने राष्ट्रहरूको ओपेक समूहले प्रमुख सदस्यहरूलाई नियोजित उत्पादन वृद्धि स्थगित गरी यसको सट्टा नोभेम्बरको अन्त्यसम्म स्वैच्छिक आपूर्ति कटौती विस्तार गर्न प्रेरित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट