काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी जोगाउनलाई एमालेसँग मिलेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै देउवालाई यस्तो बताएका हुन् ।
एमाले र माओवादी मिल्दा पार्टी सिद्धिन्छ भन्ने चिन्ता कांग्रेसभित्र बढेसँगै आफू यो विकल्पमा गएको देउवाको भनाई छ ।
“एमाले–माओवादी एक ठाउँ हुँदा पार्टीका साथीहरू चिन्तित थिए, धेरै साथीहरूले भन्नुभयो जहाँ–जाँदा पनि सरकार फर्काउनु पर्छ हाम्रो पार्टी सिद्धिन्छ भन्नुभयो”, उनले भनेका छन्, “ओलीजीसँग कुरा गरे अनि सकारात्मक कुरा आयो, सहमति नेपाली कांग्रेसका साथीहरूको भावनाअनुसार भएको हो ।”
उनले एमालेबाट धोका होला कि भन्ने चिन्ता नमान्न पनि सुझाएका छन् । “सहमति पालना हुन्छ, दुई वर्ष सरकार ओलीले चलाएपछि कांग्रेसलाई छोडिदिनु हुन्छ”, देउवाले भनेका छन् ।
सभापति देउवाले अन्य पार्टीलाई सिध्याउने कांग्रेसको कुनै उद्देश्य नभएको पनि जिकिर गरेका छन् । “दुई पार्टी मिलेपछि अरू सिधिन्छन् भन्छन्, हाम्रो उद्देश्य यस्तो होइन”, उनले भनेका छन्, “ओलीजीको पनि त्यस्तो कुरा हैन होला ।”
उनले आफू रिटार्यडको सोंचमा पुगेको भन्दै पार्टीको विषयमा नयाँ पुस्ताले चिन्ता लिन आवश्यक भएको बताए । “भोलि आउने नेताले, सभापति हुने नेताले पार्टीको चिन्ता गर्नु, मैले पनि चिन्ता गरेको छु” सभापति देउवाले भने, “भोलिका दिन चुनौतीसँगै अवसर छन् । चुनौतीलाई च्यालेन्ज गर्ने हो, काम गर्नू । पार्टी बलियो बन्नुपर्छ ।”