नक्कली दारीले पूजाको कन्तबिजोग, चर्चामा आउन दयाहाङको नाम-Sutra News

नक्कली दारीले पूजाको कन्तबिजोग, चर्चामा आउन दयाहाङको नाम

शुक्रबार, २८ भाद्र २०८१

शुक्रबार, २८ भाद्र २०८१

काठमाडौं । फिल्म ‘रावायण’को टिजर रिलिज हुँदै गर्दा पूजा शर्माले भनेकी थिइन्, “अब रोएर फिल्म चलाइन्न, मसँग पल शाह छ ।”



पलसँगको सहकार्यमा उनी यति धेरै ‘कन्फिडेन्ट’ देखिइन् कि ‘रावायण’ले बक्स अफिसमा धमाका पिट्ने निश्चित छ । सँगै, उनले विगतको असफलता पनि पलको अभावमा भएको बताएकी थिइन् ।

हुन पनि एक्सन जनरामा निर्माण गरिएको फिल्म रावायणको टिजर र गीतहरूले राम्रै प्रशंसा बटुलेको थियो । फिल्मले राम्रो प्रभाव जमाउने चर्चा पनि आमरूपमा चलेकै थियो ।

साउथ इन्डियन शैलीमा बनाइएको रावायणमा लगानी पनि राम्रै देखिन्थ्यो । किनकि फिल्ममा भिएफक्सदेखि विभिन्न कुरामा राम्रै खर्च गरिएको थियो ।

यद्यपि, हलमा रावायण नराम्रोसँग पछारियो । गत शुक्रवार रिलिज भएको रावायण दुई दिन पनि टिक्न सकेन । बहुप्रतिक्षित मानिएको फिल्मले हावा खाएपछि अहिले फिल्म प्रोडक्सन टिम निकै तनावमा छ ।

यहीबिच, फिल्म नचलेपछि पूजा शर्मा अनेकन फन्डा गर्न तल्लीन देखिएकी छिन् । उनले भाइरल पात्रहरू पुण्य गौतमदेखि सन्तोष देउजासम्मलार्ई बटुलेर मनलाग्दी अभिव्यक्ति दिन थालेकी छिन् ।

फिल्मको असफलतालाई शर्माले जातीय विषयसम्म जोड्न भ्याएकी छिन् । दयाहाङ राईका फिल्महरू चल्नुमा जातीय समुदायको साथ रहेको तर, आफूलाई आफ्नै समुदायबाट सिध्याउन खोजिएको आरोप शर्माको छ ।

“उनीहरूको (दयाहाङ राई) आफ्नै समुदाय छ, उनीहरूको चलचित्र आउँदा त्यो समुदाय नै मिलेर प्रचार गर्ने, फिल्म हेर्न जान्छन् तर, हामी आर्यहरूमा त खुट्टा तानातान छ, कसैले सहयोग गर्दैन, उल्टै बहिष्कार गर्छन्”, एक पत्रकारसँगको संवादमा उनले भनेकी छिन् ।

शर्माले फिल्म नचल्नुको कारण खोजिनन् तर, चर्चामा आउन निकै तल झरेर टिप्पणी गरेको आरोप अहिले आमरूपमा देखिन्छ । विशेषगरी सामाजिक सञ्जालमा उनको यो भनाई र फिल्ममा प्रयोग गरिएको पल शाहको नक्कली दारीको चर्चा बढेको छ ।

शर्माको यो भनाई मिलेको समाजलाई भाँड्ने शैलीमा आएको टिप्पणी धेरैको छ ।

किन चलेन फिल्म ?

फिल्म नचल्नुमा कमजोर कथा, कमजोर प्रस्तुति शैली र भिएफएक्समा गरिएको गम्भीर त्रुटि भएको फिल्म समीक्षकहरू बताउँछन् । आफ्नै कथाभन्दा पनि अन्यको कथाहरू तान्दा पनि समस्या आएको समीक्षकहरुको भनाई छ ।

“लगानी ठुलो गरियो तर, कथा, प्रस्तुति शैली र भिएफएक्समा निकै ध्यान दिइएन”, एक फिल्म समीक्षक भन्छन्, “आफ्नै कथालाई भन्दा अन्यको कपी गर्ने चलन यसमा पनि धेरै देखियो, जसको प्रभाव हलमा देखिएको हो ।”

फिल्म नचल्नुमा पूजा शर्माको शैली र पल शाहको इमेजले पनि समस्या बनाएको हुनसक्ने ती समीक्षकको भनाई छ । “हेक्का नराखेर बोल्ने पूजाको शैली फेरिएन, जसमा पल शाहको विवाद पनि जोडियो, उनले त्यस्तो गम्भीर विवादमा पनि हेक्का राखिनन्”, ती समीक्षक भन्छन् ।

अहिले विशेषगरी रावायणको केही क्लिपहरू साउथ फिल्मका क्लिपसँग पनि जोडेर सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ । कथा मात्रै नभई प्रस्तुति शैली र डाइलग पनि कपि गरिएको देखिन्छ ।

विशेषगरी फिल्ममा पलले लगाएको दारी निकै नसुहाउँदो छ । सामाजिक सञ्जालमा ‘रत्नपार्कमा किनिएको दारी’ भनेर कमेन्टहरू गरिएका छन् । सायद, फिल्मको बिजोगमा ‘नक्कली दारी’को पनि केही पाटो पक्कै जोडिन्छ ।

सम्बन्धित समाचार

‘रावायण’को ट्रेलर : पलको दोहोरो भूमिका देखाउँदा चिप्लिएको भिएफएक्स 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट