काठमाडौं । बन्दीपुर स्काइवाक एण्ड रिक्रिएसन प्रालि अब पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गरिने भएको छ। कम्पनीको असोज महिनामा हुने साधारण सभाले पारित गरी औपचारिक रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा आवेदन गर्ने निर्णय भएको कार्यकारी सञ्चालक पोष्ट बहादुर खड्काले बताए।
कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ६८ करोड रहनेछ जसमा १२ प्रतिशत सर्वसाधारणको लागि आइपिओ जारी गर्ने गरी छुट्टाइएको छ।
यस कम्पनी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेडको अधिकांश सेयर रहेको कम्पनी हो।
जसले बन्दीपुरमा ८५ मिटर अग्लो सिसाको स्काइ डेक, स्काइ जम्प, मेटल क्लाइम्बिङ्ग, भ्युज रुम, सिसाको क्याप्सुल लिफ्ट, फ्लाइ डाइनिङ, एज वाल्क र दुनियाँको सबैभन्दा लामो क्यान्टिलिभर ग्लास ब्रिज र अग्लो बन्जी जम्प समेत बनाउने गरी १ अर्ब ७० करोड रूपैयाँ लगानी गरिरहेको छ।
कम्पनीको ऋण स्वपुँजी अनुपात ६०:४० रहने गरी व्यवस्था गरेर अगाडि बढ्ने रणनीति साथ कम्पनीले कार्य गरिरहेको छ।
क्यान्टिलिभर, ग्लास वाल्क र बन्जी जम्प बाहेक सबै पूर्वाधारहरू आगामी जनवरीसम्म पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा आउने कम्पनीले दाबी गरेको छ।