काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले एमालेका सांसदहरूले संसदमा बोलेको अभिव्यक्ति नहटाइएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको हाे ।
शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी केन्द्रकाे संसदीय दलको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न समेत निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
‘माओवादी जनयुद्धलाई एमालेले अपमानित गरेको छ । त्यो शान्ति सम्झौता र संविधानविपरित छ । हिंसासँग मात्र होइन समग्र माओवादी आन्दोलन, जनमुक्ति सेनालाई बदनाम गर्ने ढङ्गले आएको छ’, बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘आगामी दिनमा त्यसको सशक्त प्रतिवाद गर्ने गरी समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय भएकाे छ ।’
गत भदौ १२ गते बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेर व्याख्या गरेका थिए। जसप्रति माओवादी केन्द्रले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले सचिवालयलाई छानबिन गर्न निर्देशन दिएका थिए। यद्दपि, छानबिनपछि भदौ २६ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाए ।
भट्टराईकाे भनाईलाई सभामुख घिमिरेले सदर गरेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवराेध गरेकाे थियाे । जसबारे बसेकाे संसदीय दलकाे बैठकले पछि नहट्ने अडान लिएकाे हाे ।