पहिलो अभ्यास खेलमा ललित र सन्दीप चम्किँदा सहज जित-Sutra News

पहिलो अभ्यास खेलमा ललित र सन्दीप चम्किँदा सहज जित

शनिबार, २९ भाद्र २०८१

शनिबार, २९ भाद्र २०८१

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गतको शृङ्खला खेल्न क्यानडा पुगेको नेपाली टोलीले अभ्यास खेलमा जित निकाल्न सफल भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले एचपी ज्यागुअर्सलाई ६६ रनले पराजित गरेको हो ।



नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याउने क्रममा ज्यागुअर्सले ३९ ओभरमा अलआउट हुँदै १८१ रन मात्र बनाएको हो । टोलीका लागि अजयवीर सिंहले ७५ बलमा सर्वाधिक ५५ रन जोड्न सके ।

त्यस्तै, नदिम मंजराले ३६ बलमा २९ रन बनाउँदा समित गोहिलले २० रन बनाए । नेपालका लागि ललित राजवंशीले चार विकेट लिँदा सन्दीप लामिछानेले तीन विकेट लिए । कुशल मल्लले एक विकेट लिन सफल भए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले ४७.५ ओभरमा अलआउट हुँदै २४७ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार शाहले ३७ बलमा ४७ रन बनाए ।

कुशल भुर्तेलले ६० बलमा ४१ रन बनाउँदा कप्तान रोहित पौडेलले ३३ रन बनाएका थिए । ज्यागुअर्सका लागि सिल पटेल, इफ्रान सादत र जसकरण बतारले २-२ विकेट लिन सफल भए ।

लिंग २ अन्तर्गत नेपालले क्यानडामा आफ्नो दोस्रो शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलामा नेपाल र क्यानडासँगै ओमान पनि सहभागी हुनेछ । यो शृङखलामा तीन वटा राष्ट्रले कूल ६ खेल खेल्ने छन् ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १६ तारिखमा आयोजक राष्ट्र क्यानडासँग खेल्नेछ । श्रृङखलाको दोस्रो खेल सेप्टेम्बर १८ तारिखमा नेपाल र ओमानबिच खेलिने छ । सेप्टेम्बर २० मा हुने तेस्रो खेलमा आयोजक क्यानडाले ओमानको सामना गर्नेछ ।

यसैगरी, चौथो खेल सेप्टेम्बर २२ तारिखमा नेपाल र क्यानडाबिच खेलिने छ । शृङ्खलाको पाँचौं खेल नेपाल र ओमानबिच सेप्टेम्बर २४ तारिखमा खेलिने छ । शृङ्खलाको अन्तिम खेल सेप्टेम्बर २६ तारिखमा ओमान र क्यानडाबिच हुनेछ ।

एक दिवसीय श्रृङखलालगत्तै क्यानडामै त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । यस शृङ्खलामा पनि यी तीन राष्ट्र सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट