काठमाडौँ । पूर्व कानून मन्त्रीसमेत रहेका नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्था ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ ।
सहकारी संस्थामा रहेका कर्मचारी र सञ्चालकविरुद्ध निवेदन दर्ता गरेर प्रारम्भिक अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।
सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा यही साउनमा उजुरी दिएका थिए ।
ठगी आरोपित मुख्य व्यक्ति ज्योति गुरुङ सांसद धनराज गुरुङकी श्रीमती हुन् । तर, उनीहरूले २०७६ सालमा सम्बन्ध विच्छेद गरेको दाबी गरेका छन् । सम्बन्ध विच्छेद गरेको दाबी गरे पनि श्रीमतीको नाममा रहेको ऋण धनराजले तिर्दै आएको अध्यक्ष कुम्भराजले बताए ।
धनराज गुरुङको संलग्नता छ कि छैन ? भन्ने विषय अनुसन्धानपछि थाहा हुने प्रहरीले जनाएको छ । सांसद गुरुङ सहकारी ठगीमा मुछिएपछि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पनि मितेरी सहकारीको स्थलगत निरीक्षण गरेको छ ।
समितिलाई संस्थाका अध्यक्ष कुम्भराजले धनराज गुरुङले आफ्नो ठगी लुकाउन कागजी सम्बन्ध विच्छेद गरेको, एक महिनाअघिसम्म श्रीमतीले लिएको ऋणको किस्ता तिर्न आएको कुरा सूर्य थापासहित समितिका सदस्यलाई जानकारी गराएका थिए ।