काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट नेपाली कांग्रेस र नेकपा एमाले पछि हट्ने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्याति प्राप्त व्यक्ति भएको र यसअघि टेक्निकल्ली केही कुरा नजानेर त्रुटी भएको भन्दै उपसभामुखबाट हटाउने काम गर्न नहुने उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि आठ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईहरुले वरियता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘बरियतालाई तोड्नु पर्छ भनेर कसैले भनेको छैन ।’
अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताए । उनले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नु पर्छ भनेर आफूहरु लागिरहेको उल्लेख गरे ।