काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने निश्चित छ । गत असार १७ गते मध्यराति दोस्रो ठूलो दल नेकपा एमालेसँग सात बुँदे सहमति गरेसँगै उनी प्रधानमन्त्री बन्ने बाटो खुला भएको हो ।
सभापति देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो कति सहज छ ? त्यो आगामी राजनीतिले देखाउने छ । तर, उनी आगामी दिनमा राजनीतिबाट बाहिरिने निश्चित रहेको छ । अबको दिनमा आफूले राजनीति नगर्ने उनी आफैले स्वीकारेका छन् ।
देउवाले आफ्नो उमेरसहित अनेक कारण देखाउँदै ‘राजनीतिक जिम्मेवारी हस्तान्तरण’ गर्ने घोषणा गरेका हुन् । गत बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले भने, ‘मेरो उमेर र अन्य कारणले ‘रिटायरमेण्ट’को बेला भइसक्यो, पार्टीको चिन्ता मैले पनि गरिरहेको छु, भोलि आउने नेताहरूले बढी चिन्ता गर्नु पर्ने हो ।’
उनले आफू रिटायरमेण्ट हुनुको अन्य कारण छ भन्नुको अर्थ हो- पार्टीको विधान । उमेरले ७८ वर्ष भएका उनी दुई पटक पार्टी सभापति भइसकेका छन् । यसअघि पाँच पटक प्रधानमन्त्री बने । साथै, उनले विभिन्न मन्त्रालयमा मन्त्रीको जिम्मेवारीमा काम गरे ।
आगामी दिनमा देउवाले चाहेर पनि राजनीतिको भूमिकामा बस्न पाउने छैनन् । यसको सबैभन्दा बलियो कारण हो, पार्टीको विधान । विधानले तोकिएअनुसार अबको १५ महिनापछि कांग्रेसको सभापतिमा नयाँ अनुहार देखिने छन् । त्यसपछि देउवाको राजनीति स्वतः रिटायरमेण्ट हुनेछ । तेस्रो पटक सभापति बन्न नपाउने भएपछि उनी पार्टी राजनीतिबाट बाहिरिने पक्का भएको हो ।
पार्टी राजनीतिबाट बाहिरिने भए पनि उनले एकपटक प्रधानमन्त्री बन्ने आशा राखेका छन् । यस क्रममा उनले भने, ‘सहमति पालना हुन्छ, दुई वर्ष सरकार ओलीले चलाएपछि कांग्रेसलाई छोडिदिनु हुन्छ ।’
यस्तै, उनले आगामी दिनमा पार्टीलाई बलियो बनाउन थप चुनौती भएको स्वीकारे । आफू रिटायरमेण्टमा जाने भन्दै उनले भने, ‘भोलिका दिन चुनौतीसँगै अवसर छन्, चुनौतीलाई च्यालेञ्ज गर्ने हो, काम गर्नु, पार्टी बलियो बन्नु पर्छ ।’
श्रीमतीलाई दिँदै विरासत
सभापति देउवा आफू रिटायरमेण्ट हुने भएसँगै श्रीमती आरजु राणा देउवालाई शक्तिशाली बनाउँदै गएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनले श्रीमतीलाई परराष्ट्र मन्त्री बनाउन सफल भए ।
आफूले चाहेको मन्त्रालय पाएकी आरजुले पनि आफ्नो शक्ति देखाएकी छन् । भारत भ्रमणमा हुँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान टु वान’ वार्ता गरी उनले देशको राजनीतिलाई तरङ्गित बनाएकी थिइन् ।
यसअघि प्रतिपक्षी भूमिकामा हुँदा देउवाले पत्नीलाई प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बनाउन सफल भएका थिए ।
पछिल्लो दुई वर्षमा देउवाले श्रीमतीलाई पार्टीमा शक्तिशाली बनाउँदै जाँदा भावी सभापतिको खोजी सुरु गरेका छन् ।
पार्टीभित्र प्रतिपक्षीको भूमिकामा रहेका शेखर कोइराला–गगन थापाको गुटलाई कमजोर बनाएका देउवाको आगामी महाधिवेशनमा खेल्ने भूमिकालाई राष्ट्रिय राजनीतिमा चासोका रुपमा हेरिएको छ ।