काठमाडौँ । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ ।
“पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला पारेका छौँ”, विभागकाका प्रवक्ता महमुद बस्सलले बताए ।
गाजा सहरको अल-तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको उनको भनाइ थियो । “उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्”, बस्सलले भने ।
इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन । बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तिमा १० जनाको मृत्यु भएको बताए ।
उत्तरपश्चिमी गाजा सहरमा दार अल-र्काम विद्यालय नजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए ।
त्यसैगरी, दशौँ हजार विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल-मवासी क्षेत्रमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको छ ।