वामपन्थी शक्ति इतरको सत्ताको चर्चा, सम्भावना कति ?-Sutra News

वामपन्थी शक्ति इतरको सत्ताको चर्चा, सम्भावना कति ?

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौं । संसदको दोस्रो ठूलो दल नेकपा (एमाले)सँग सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिहरूबिच ध्रुवीकरणको पहल गर्न थालेको छ । तत्कालिनरुपमा सत्तामा कम्युनिष्टसँग सहकार्य गरेपनि कांग्रेसले दीर्घकालीन योजनाअनुसार लोकतान्त्रिक शक्तिहरूसँग सहकार्यको अवधारणा अघि सारेको हो । जसको लागि शीर्ष तहकै केही नेताहरूमा पहलमा जुटेका छन् ।



लोकतान्त्रिक शक्तिहरूबिच सहकार्यको पक्षमा नेता कृष्णप्रसाद सिटौला सक्रिय छन् । उनले खुलारुपमै पनि लोकतान्त्रिक शक्तिहरूबिच धुव्रिकरण हुनुपर्ने पनि बताइरहेका छन् ।

“कांग्रेस र कम्युनिस्टबिच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या छ”, विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीका अवसरमा संवाद केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भने, “यसकारणले पनि ध्रुवीकरण आवश्यक छ ।”

राजनीतिक स्थिरताका लागि पनि वैचारिकरुपमा शक्तिहरूबिच ध्रुवीकरण आवश्यक रहेको उनको भनाई छ । “आवधिक निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि रोज्ने र प्रतिनिधिमार्फत शासन चलाउने हो, जनताले प्रतिनिधिमार्फत आफ्नो शासन गर्ने हो, लोकतान्त्रिक शासन पद्धति भनेको यही हो”, उनले भनेका छन्, “यो विचारमा सहमत हुनेहरू एक ठाउँमा आउनुपर्छ ।”

सिटौलाले खुलारुपमा लोकतान्त्रिक शक्तिहरूबिचमा ध्रुवीकरणको विषयलाई औँल्याइरहँदा कांग्रेसका अन्य थुप्रै नेताहरू पनि लोकतान्त्रिक शक्तिहरूबिच सहकार्यको पक्षमा निरन्तर जुटेको देखिन्छ । चुनावका बेलासँगै सत्ता सहकार्यको बेलामा पनि विषयहरू अगाडि आए पनि टुङ्गोमा भने पुग्न सकिरहेको छैन ।

यद्यपि, एमालेसँगको पछिल्लो सत्ता सहकार्यसँगै भने कांग्रेसभित्र लोकतान्त्रिक ध्रुवीकरण छलफल तीव्र भइरहेको छ । संसदमै रहेका लोकतान्त्रिक शक्तिहरूलाई एकत्रित गर्ने गरी नेताहरूले छलफल बढाएको देखिन्छ ।

हुन पनि संसदमै वामपन्थी इतरका शक्तिहरू एक ठाउँमा आउँदा बहुमतको अवस्थासमेत बन्ने सम्भावना छ । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन कम्तीमा १३८ सदस्यको समर्थन आवश्यक पर्छ । जहाँ नेपाली कांग्रेससँग ८८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १४, जनमत पार्टीसँग ६, नागरिक उन्मुक्ति पार्टीसँग ४ र लोकतान्त्रिक समाजवादी पार्टी ४ सांसद छन् । जसको योग १३७ हुन जान्छ ।

सँगै, ५ सांसद भएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि आफूलाई लोकतान्त्रिक समाजवादी शक्ति भन्ने गरेको छ । साथै, केही स्वतन्त्र सांसद पनि लोकतान्त्रिक सहकार्यकै पक्षमा छन् ।

यस्तोमा वामपन्थी शक्तिहरूलाई नै पाखा राखेर समेत संसदमा बहुमत जुट्न सक्छ । यद्यपि, बलियो वामपन्थी शक्ति बाहिर हुँदा सत्ता सञ्चालन सहज भने हुने देखिन्न ।

यसअघि २०७९ पुस १० मा एमाले र माओवादीलगायतका शक्तिहरू एक हुँदै गर्दा कांग्रेसभित्रबाट लोकतान्त्रिक शक्तिहरूलाई एकजुट बनाउने प्रयास चलेको थियो । यद्यपि, सत्ता केन्द्रित सहकार्यमा दलहरू उद्धत हुँदा उक्त मोर्चा बन्दी सम्भव भएन ।

यदि कांग्रेस–सहकार्य तोडिएको खण्डमा त्यो सम्भावना जीवितै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट