भ्रष्टाचारी जोगाउन सरकार गठन भएको पुष्टि हुँदैछ- उपाध्यक्ष श्रेष्ठ-Sutra News

भ्रष्टाचारी जोगाउन सरकार गठन भएको पुष्टि हुँदैछ- उपाध्यक्ष श्रेष्ठ

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको बताएका छन् ।



पोष्ट बहादुर बोगटीको दशौँ स्मृति दिवसमा माओवादी केन्द्रले आइतबार पार्टी कार्यालय पेरिसडाडामा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारको पछिल्लो कामकारवाहीलाई हेर्दा भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको बताए ।

पछिल्लो समय सहकारी प्रकरणमा सांसदहरू मुछिँदै गएकाले उनीहरूलाई कस्तो कारबाही वा अनुसन्धान हुन्छ भन्ने जनताले हेरिरहेको उनले बताए । उनले माओवादीको जनयुद्ध वा संविधानमा उल्लेख सशस्त्र द्वन्द्वलाई होच्चाउने काम सत्तापक्ष सांसदहरूबाट भएकाले प्रतिवाद गर्नु परेको धारणा राखे ।

हिंसा शब्द सदनमा प्रयोग हुन सक्दैन भन्ने नभई जनयुद्धका सन्दर्भमा प्रयोग भएको हिंसा शब्दले परिवर्तनलाई अपमान गर्ने काम भएको उनको भनाइ थियो ।

नेता श्रेष्ठले समाजवादी मोर्चालाई क्रियाशिल बनाउन सक्रिय भूमिका खेल्ने र जनताको मुद्दाका विषयमा विचार मिल्नेसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखे । उनले माओवादी नेतृत्वको सरकारले कुनै गल्ती नगरी राम्रा काम गरेकाले सरकारबाट हटाइएको जिकीर गरे ।

सरकारबाट बाहिरिएपछि माओवादीलाई आफूले गरेका कामका कारण जनताका अगाडि मुख देखाउन कुनै समस्या नरहेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट