काठमाडौं । ‘हिंसा’ शब्दलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले गरेको संसद अवरोधलाई खुलाउने सन्दर्भमा सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षबिहीन बनेको छ । माओवादी केन्द्रले शब्दलाई लिएर अडान नछाडेपछि बैठक निष्कर्षविहीन भएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले राखेको विषयमा सहमति नजुटेको भन्दै संसद अवरोध कायमै राख्ने बताए । “शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो, हामी अवरोध जारी राख्छौँ”, उनले भनेका छन्, “यहाँबाट निस्पेछि पार्टीमा पनि छलफल हुन्छ ।”
यद्यपि, एमालेले भने अडान नछाडे माओवादीले क्षति व्यहोर्ने बताएको छ । सभामुखले बोलाएको दलका प्रमुख सचेतकहरूको बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो पार्टीका मुख्य सचेतक महेश बर्तौलाले उनले नियमापत्तिको विषयमा निर्णय गर्ने अधिकार सभामुखलाई भएको बताए । उनले हाउसलाई चलाउने अधिकार कसलाई हो भन्ने प्रश्न पनि गरे ।
“निर्णय गर्ने अधिकार सभामुखलाई छ । सभामुखको रूलिङ सबैले मान्नुपर्छ । नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखलाई छ । त्यसको खिलाफमा माओवादीले हाउस चल्न निदेन बेठिक छ”, उनले भनेका छन्, “हिंसा शब्द लिएर बैठक अवरोध गरे माओवादीको संसदीय प्रणालीमाथीको निष्ठा प्रश्न उठेको छ । यो विषय फिर्ता लिनुहोस् भनेका छौँ।”
भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेका थिए । जसको विरोध माओवादीले गरिरहेको थियो । यद्यपि, हिंसा शब्द संसदीय शब्द भएको सभामुखले रुलिङ गरेपछि माओवादीले सदन अवरोध गर्ने निर्णयमा पुगेको हो ।