फेरि किन घट्यो नेप्से, अबको यात्रा कता ?-Sutra News

फेरि किन घट्यो नेप्से, अबको यात्रा कता ?

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ । झण्डै १०० अंकको उतारचढावका बिच नेप्सेमा ५०.७३ अंकको गिरावट आएको हो ।



लगातार गिरावटका बिच गत साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्सेमा ७८.३१ अंकको बृद्धि भएको थियो । जसको निरन्तरता आजको कारोबारसँगै हुने विश्वास लगानीकर्ताहरुले गरेका थिए ।

यद्यपि, बिक्री चाप उच्च हुँदा नेप्सेमा बृद्धि कायमै रहन सकेन । आइतबारको कारोबारसँगै नेप्से पुनः २६३७.७९ को बिन्दुमा ओर्लिएको छ ।

खरिद–बिक्री उच्च भएसँगै कारोबार रकम पनि यसदिन यसअघिका दिनभन्दा उच्च रह्यो । २ करोड ४८ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको भयो । जुन ६ कारोबार दिनयताकै उच्च हो ।

यसअघि भदौ १९ मा कारोबार रकम १२ अर्ब ७८ करोडमाथिको थियो । त्यसयता सूचकसँगै कारोबार रकममा तिव्र गिरावट भएको थियो ।

आज सबैभन्दा बढी होटल तथा पर्यटन समूहमा ३.६८ र वित्त समूहमा ३.५३ प्रतिशतले गिरावट आयो । बैंक, व्यापार र सामूहिक लगानीमा १ प्रतिशतभन्दाले गिरावट आउँदा अन्यमा २ प्रतिशत बढीको गिरावट आयो ।

उच्च गिरावटका बिच आइतबार अधिकांश कम्पनीको मूल्य पनि घटेको छ । २४४ कम्पनीको कारोबार हुँदा २१९ कम्पनीको मूल्य घटेको छ । आज २४ कम्पनीको मूल्य बढ्दा एक कम्पनीको मूल्य स्थिर रह्यो ।

उच्च अंकले मूल्य घटेपनि यसदिन ४ कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भयो । रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट र इस्टन हाइड्रोपावरको मूल्यमा १० प्रतिशतले हाराहारीले बृद्धि भएको थियो । यसदिन पनि थ्रि स्टार हाइड्रोको मूल्य १० प्रतिशतले घट्यो ।

विशेषगरी ठूला लगानीकर्ता होल्डमा रहनु र केही निश्चित लगानीकर्ता नाफा बुक गर्न तम्सिँदा नेप्से घटेको बजार विश्लेषकहरु बताउँछन् । जसमा चाडपर्वको प्रभाव पनि जोडिएको विश्लेषकहरुको भनाई छ । ठूला लगानीकर्ताको सक्रियता नबढेसम्म बजारले गति लिन नसक्ने विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट