बम विस्फोटमा मृतक दुई बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिने-Sutra News

बम विस्फोटमा मृतक दुई बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिने

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई पाँच–पाँच लाख क्षतिपूर्ति दिइने बताएका छन् ।



प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले मृतकका परिवारजनलाई सरकारले उक्त रकम बराबरको क्षतिपूर्ति दिन लागेको बताए । प्रधानमन्त्री ओलीले घाइतेको उपचारको जिम्मा सरकारले लिने पनि सदनलाई जानकारी गराए ।

“पाँचथरमा दुई बालबालिकाको दुःखद् मृत्यु भयो, अहिले त्यत्ति भनौँ, कसरी निधन भयो भन्ने विषय पछि कुरा गरौँला”, उनले भने, “बिस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो, यहाँ अन्यौल भइरहेको छ तर पनि विस्फोटबाट दुई बालबालिकाको दुःखद मृत्यु भयो, मृतकका परिवारलाई सरकारले रु पाँच–पाँच लाख क्षतिपूर्ति दिने र घाइतेको उपचार सरकारले गर्ने सभामुखमार्फत सदनलाई जानकारी गराउन चाहन्छु ।”

भदौ १३ गते पाँचथरको फलेलुङ गाउँपालिका ५ प्रङबुङस्थित एउटा घरको आँगनमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको मृत्यु भएको थियो । ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा भएको विस्फोटमा उनका छिमेकी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र दुई वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको थियो ।

साथै उनले दुर्घटनाका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको उपचारको जिम्मा सरकारले लिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट