रविलाई नफापेको राजनीति !-Sutra News

रविलाई नफापेको राजनीति !

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौं । राजनीतिमा आउनुअघि नेपाली समाजमा रवि लामिछाने एक आइकन पात्र थिए । निमुखाहरूको पक्षमा टेलिभिजनमार्फत उनले गरेको वकालत निकै नै प्रभावकारी खालको थियो । उनका प्रत्येक कार्यक्रमका आमका  निम्ति चासोका विषय बन्थे ।



यद्यपि, पत्रकारितामै रहँदा उनी विवादरहित भने भएनन् । टेलिभिजन कार्यक्रम चलाइरहेका लामिछानेमाथि आफ्नै सहकर्मीले गम्भीर आरोप लगाउँदै आत्महत्या गरे । पत्रकार सालिकराम पुडासैनीले लामिछानेसहित तीन जनामाथि गम्भीर आरोप लगाउँदै आत्महत्या गरेका थिए ।

पुडासैनीको आरोपसँगै जिल्ला प्रहरी कार्यालय चितवनले लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । यद्यपि, उक्त आरोपमा उनले सफाइ पाए ।

अनौठो विषय, उक्त मुद्दाले उनी थप लोकप्रिय बने । पुडासैनीको घटनाले उनीप्रति थप सहानुभूति बढ्यो । उक्त मुद्दा सुनुवाई हुँदै गर्दा चितवनमा उनको पक्षमा ठूलो संख्यामा नागरिकहरू सडकमा उत्रिएका थिए ।

उक्त घटनाबाट आफूप्रतिको सहानुभूति बुझेका लामिछानेले आफ्नै नेतृत्वमा टेलिभिजन खोल्ने निर्णय लिए । जसमा गितेन्द्रबाबु राई अर्थात् जीवी राईलाई अगाडि सारे । जीबाले लगानी जुटाउने भएपछि रविको नेतृत्वमा गोर्खा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजन सञ्चालनमा आयो । जीवीले सहकारीको रकम टेलिभिजनमा भित्र्याए ।

यद्यपि, टेलिभिजन सञ्चालनको छोटो समयमै लामिछाने भने टेलिभिजन कर्मबाट बाहिरिए । विशेषगरी चितवनमा उत्रिएको जनलहरलाई ध्यान दिँदै लामिछानेले पार्टी खोल्ने निर्णय लिए ।

२०७९ मंसिरको निर्वाचनलाई ध्यानमा राख्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गर्ने निर्णय लिएका थिए । जसमा स्थानीय निर्वाचनमार्फत देशव्यापीरुपमा स्वतन्त्र उम्मेदवारहरूको उदय पनि एक कारण थियो ।

यद्यपि, उनले जिम्मेवारी छाडेसँगै टेलिभिजन पनि बन्द भयो र टेलिभिजनकै विषयले उनी समस्यामा पर्ने स्थिति बन्यो ।

राजनीतिमा ढुंगैढुंगा

स्थानीय निकायको निर्वाचन भएको २ महिनापछि आम निर्वाचनको ६ महिनाअघि लामिछानेले पार्टी दर्ता गरेका थिए । अनौठो विषय, ६ महिनाअघि दर्ता भएको पार्टीले आम निर्वाचनमा उत्साहजनक विजय हात पा¥यो । लामिछाने स्वयम् सर्वाधिक मत ल्याउँदै विजयी हुँदा उनको पार्टी चौथो राष्ट्रिय पार्टी बन्यो ।

राजनीतिमा होमिएको करिब ६ महिनामै उनी उपप्रधानसहित गृहमन्त्री बन्न सफल भए । उनी गृहमन्त्री हुँदा सबैभन्दा बढी खुसी थिए, जीवी राई । रविले गृहमन्त्रीको पद सम्हाल्दा जीवी पनि सहयोगीको रूपमा थिए ।

तर, गृहमन्त्री बनेको तीन महिनामा सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने प्रतिनिधिसभा सदस्यका लागि योग्य नभएको फैसला गरिदियो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया नगरेको भन्दै सर्वोच्चले उनको पद खारेज गरिदिएको हो । योसँगै उनले मन्त्री पद पनि सँगै गुमाएका थिए ।

नागरिकता ऐनअनुसार, विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता ब्युँताउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । तर, गृहमन्त्री बनेका उनी आफैले यही सानो कुरामा ध्यान दिन सकेनन् । अनन्त: पद गुमाए ।

पद गुमाएका लामिछानेले पुनः उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भए । ६ महिनामै दोस्रो पटक चुनाव जितेका उनी पुनः तीन महिना उपप्रधानसहित गृहमन्त्री बने ।

सहकारीको भारी

संघीय संसद्को चालु अधिवेशन अन्त्यको अन्तिम दिन सोमबार बसेको बैठकमा सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन पेस गरेको छ । समितिले पेस गरेको प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीबाट आएको रकम अपचलन गरेको ठहर गरेको छ । यसका साथै कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ ल्याएको ठहर गर्दै समितिले जीवी राई र रवि लामिछानेले चेक काटेर खर्च गरेको उल्लेख गरेको छ । यसमा सहकारीको बचत हिनामिनामा रविको संलग्नता रहेको पुष्टि गरेको छ ।

प्रतिवेदनमा कम्पनीका अध्यक्ष राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको उल्लेख गरिएको छ ।

समितिको प्रतिवेदनसँगै अब अदालती निकाय आकर्षित हुने देखिएको छ । समितिको सिफारिसलाई हेर्दा, लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन जिम्मेवार सदस्यहरूमाथि मुद्दा प्रक्रिया अघि बढ्ने निश्चित छ । अदालतले दोषी ठहर गर्ला वा नगर्ला अर्को विषय हो, यद्यपि लामिछाने मुद्दा प्रक्रियामा अल्झिने निश्चित छ । जसले उनको राजनीतिक यात्रामा समेत प्रश्न उठाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट