मेटमणिलाई ‘दुषित तत्व’ भन्दै झलनाथले गरे निष्कासनको माग-Sutra News

मेटमणिलाई ‘दुषित तत्व’ भन्दै झलनाथले गरे निष्कासनको माग

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित नेता’ झलनाथ खनालले कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे विवादित अभिव्यक्ति दिने उपसमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट तत्काल निष्कासन गर्न माग गरेका छन् । पार्टी महासचिव घनश्याम भुसालले स्पष्टीकरण मागेकै सन्दर्भमा खनालले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।



प्रतिनिधि सभा सदस्यसमेत रहेका चौधरीले गत भदौ २५ गते प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी’मा भारतले गरेको दाबी पुग्ने र यी भूमि उसैको भएको आशयको अभिव्यक्ति दिएका थिए ।

“यो त सोह्रै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो । हाम्रो पार्टी जस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो । यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र शुभेच्छुकहरूबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ”, खनालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न ।”

चौधरीको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी भएको भन्दै उनले तत्कालै पार्टीबाट निष्कासन गर्न माग गरेका हुन् । “अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु”, खनालले विज्ञप्तिमार्फत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट