पेट्रोलियम पदार्थको अनुसन्धानमा ५५ प्रतिशत काम सकियो, २२ सय मिटर ड्रिलिङ-Sutra News

पेट्रोलियम पदार्थको अनुसन्धानमा ५५ प्रतिशत काम सकियो, २२ सय मिटर ड्रिलिङ

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत सकिएको छ ।



चार महिनामा ड्रिलिङको काम सक्ने गरी गत जेठदेखि सुरु गरिएको थियो । तर, कडा चट्टानका कारण ५५ प्रतिशत मात्र ड्रिलिङको काम सकिएको परियोजनाले जनाएको छ ।

चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्ने भए पनि हालसम्म २२ सय मिटर ड्रिलिङ भइसकेको छ । अहिले विज्ञहरूले २-२ मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरी तथ्याङ्क संकलन गरिरहेका छन् ।

ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ । हाल चिनियाँ र नेपाली गरी ७० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ ।

दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो ।

सुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन ।

चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । भूगर्भविद्हरूले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ पत्ता लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट